तीन वर्षपछि जग्गा कित्ताकाट खुल्यो

काठमाडौं, २२ भदौ : विगत तीन वर्षदेखि रोकिएको जग्गाको कित्ताकाट सरकारले फुकुवा गरेको छ ।

सरकारको यो निर्णयसँगै जग्गा कित्ताकाँटमा सरकारले तीन वर्षदेखि लगाएको प्रतिबन्ध हटेको छ । अब सबै प्रकारको जग्गाको कित्ताकाट गर्न सकिने छ ।

तत्कालीन भूमि व्यवस्था मन्त्री गोपाल दहितले २६ साउन ०७४ मा कृषियोग्य भूमिको खण्डीकरण गर्नबाट रोक्न कित्ताकाटमा प्रतिबन्ध लगाएका थिए । अहिले तीन वर्षपछि आएर भूमि व्यवस्थामन्त्री पद्या अर्यालले उक्त प्रतिबन्ध फुकुवा गरेकी हुन् ।

भदौ १८ गते बसेको मन्त्रीस्तरीय बैठकले पुरानो निर्देशनलाई खारेज गरी सबै प्रकारको जग्गाको कित्ताकाट फुकुवा गर्ने निर्णय गरेको छ । मन्त्रालय स्रोतका अनुसार नयाँ भूउपयोग ऐन, २०७६ ले जग्गाको विशेषता र आवश्यकताका आधारमा गरेको वर्गीकरणभित्र रहेर स्थानीय तहले आ–आफ्नो मापदण्डको परिधिमा बसेर कित्ताकाट खुला गर्न सक्नेगरी निर्णय भएको छ ।

यद्यपि कृषियोग्य भूमिको अन्धाधुन्ध खण्डीकरण गर्न यो नीतिगत निर्णयले अनुमति दिनेछैन । भूउपयोग नीतिभित्र रहेर स्थानीय तहले बनाएको मापदण्डअनुसार मात्र जग्गाको कित्ताकाट गर्न पाइने मन्त्रालयका एक अधिकारीले जानकारी दिए । अब स्थानीय तहले गैरकृषि भनेर प्रमाणित गरेको जग्गा मात्र कित्ताकाट गर्न सकिनेछ ।

प्रतिबन्धको समयमा पनि टाठाबाठाहरुले चोरबाटोबाट जग्गाको खण्डीकरण गरिरहेको तर सर्वसाधारणले दुःख पाइरहेको भन्दै सरोकारवाला निकायहरुले भूमि व्यवस्था मन्त्रालयको ध्यानाकर्षण गराइरहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.