वीर अस्पताललाई कोरोना अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय
काठमाडौं, २१ भदौ : वीर अस्पताललाई कोरोना विशेष अस्पताल तोकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तगर्तको स्वास्थ्य आपतकालीन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो ।
सरकारले राजधानीको महाबौद्धमा रहेको वीर अस्तपाललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । अब वीर अस्पतालबाट दिँदै आएका सेवाहरु राष्ट्रिय ट्रमा सेन्टरबाट उपलब्ध गराउने र वीर अस्पताल भने कोभिड अस्पतालका रुपमा सञ्चालन हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
यसअघि उपत्यकामा कोरोना अस्पताल नै भनेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल तोकिएको थियो ।
यस्तै, त्रिवि शिक्षण अस्पताल र धुलिखेल अस्पतालमा आइसियु बेड निर्माणका लागि अर्थ मन्त्रालयले बजेट विनियोजन गरेको छ । प्रवक्ता डा. गौतमका अनुसार दुबै अस्पतालमा ६० बेड आइसियु निर्माणका लागि मन्त्रालयले बजेट निकासा गरेको हो ।
यसैगरी सरकारले विभिन्न शिक्षण संस्थाहरुमा स्वास्थ्य विधामा अध्ययनरत विद्यार्थीहरुलाई स्वयमसेवीका रुपमा परिचालन गर्ने भएको छ । आवश्यकता अनुसार विद्यार्थीहरुलई स्वयमसेवी रुपमा परिचालन गर्न सम्झौता गर्ने निर्णय भएको उनले बताए ।
