मन्त्रिपरिषद् हेरफेर हुँदैन, ढुक्कले काम गर्नू : प्रधानमन्त्री
काठमाडौं, १९ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई मन्त्रिपरिषद् हेरफेर नहुने बताएका छन् ।
शुक्रबार भएको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् हेरफेर नहुने भएकाले मन्त्रीहरुलाई ढुक्कसँग काम गर्न निर्देशन दिएका छन् । ‘अहिले मन्त्रिपरिषद् हेरफेर हुँदैन । बाहिरी हल्लाको पछि नलाग्नुहोस्’, प्रधानमन्त्री ओलीको भनाइलाई उदृत गर्दै एक मन्त्रीले भने, ‘अहिले रिक्त मन्त्रालयमा पदपूर्ति हुन्छ । तर, तत्कालै अरु हेरफेर हुँदैन । हल्लाको पछि नलाग्नू, आफ्नो मन्त्रालयको तनाव लिनू ।’ प्रधानमन्त्री ओलीले खाली रहेको स्थानमा पूरा गर्ने बताए पनि तत्कालै हेरफेर नगर्ने संकेत गरेको ती मन्त्रीले बताए । नेकपाको विवाद समाधान कार्यदलले प्रतिवेदनमा मन्त्रिपरिषद् हेरफेर गर्न सुझाएपछि त्यसबारे चर्चा भइरहेको छ ।
सत्तारुढ नेकपाको विवाद समाधानबारे सुझाव दिन गठित कार्यदलले मन्त्रिपरिषद् पुनर्गठन गर्न सुझाएको छ । त्यसलगतै नेकपामा मन्त्रिपरिषद् पुनर्गठनको बहस चर्किएको छ ।
यसैगरी, अर्थमन्त्री युवराज खतिवडाले शुक्रबार साँझसम्म राजीनामा दिने बताएका छन् । मन्त्रिपरिषद्को शुक्रबारको बैठकमा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री खतिवडाले शुक्रबार अपराह्न ४ बजे पदबाट राजीनामा दिने बताएको एक मन्त्रीले जानकारी दिए ।

आजको मन्त्रिपरिषद् बैठकमा मन्त्री खतिवडाले अर्थ मन्त्रालयको साढे दुईवर्षे कार्यकालको समीक्षा गरेका थिए । यसबीचमा आर्थिक अनुशासन र अर्थतन्त्रको सुधारमा उल्लेख्य प्रगति हासिल गर्न सकेको कार्यानुभव सुनाएको ती मन्त्रीको भनाइ छ ।
गौतमको नाम सिफारिसबारे प्रस्ताव आएन
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा नेकपाका उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभामा सिफारिस गर्नेबारे प्रस्ताव नै नआएको ती मन्त्रीले बताए ।
‘उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा पठाउने राष्ट्रपति समक्ष पठाउने कुरा प्रधानमन्त्रीकै हो । त्यसैले बैठकमा त्यसबारेमा छलफल भएन,’ ती मन्त्रीले भने ।
नेकपाको सचिवालय बैठकले बिहीबार राष्ट्रपतिले मनोनित गर्ने एक स्थानमा उपाध्यक्ष गौतमलाई पठाउने निर्णय गरेको थियो । यसअघि फागुन १४ गतेको सचिवालयको बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको थियो ।
आजको मन्त्रिपरिषद् बैठकले वामदेव गौतमलाई राष्ट्रियसभाको रिक्त पदमा सिफारिस गर्ने अनुमान गरिएको थियो ।
