बैंकिङ क्षेत्रमा कोरोना बढ्न थाल्यो, कर्मचारी र ग्राहक जोखिममा

काठमाडौं, १२ भदौ : बैंकिङ क्षेत्रमा कोरोना बढ्न थालेको छ । २ सय जनाभन्दा बढी बैंकका कर्मचारीमा कोभिड–१९ को संक्रमण देखिएपछि बैंकमा गई प्रत्यक्ष कारोबार गर्ने ग्राहकसमेत असुरक्षित भएका छन् ।कोभिडका बिरामी बढेसँगै बैंकहरूले कर्मचारीहरूको कोरोना परीक्षण गराउँदा संक्रमितको संख्या दिन प्रतिदिन बढेको हो । लक्षण नै नदेखिएका कर्मचारीमा समेत कोरोना पोजिटिभ देखिएपछि बैंकिङ क्षेत्र असुरक्षित भएको छ ।

नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूले प्रत्यक्ष कारोबारभन्दा इन्टरनेट बैंकिङ, आइपिएस, मोबाइल बैंकिङबाट कारोबार गर्न आग्रह गरे पनि सर्वसाधारणको भीड बैंकहरूमा देख्न सकिन्छ । यसबाट कोरोना कता कता फैलियो भनेर ट्रेसिङ गर्नसमेत समस्या हुने भएको छ ।

प्रत्यक्ष रूपमा सर्वसाधारणको सम्पर्क नरहने नेपाल राष्ट्र बैंकमा समेत कोरोना संक्रमणले छोएपछि गभर्नर महाप्रसाद अधिकारीसमेत होम आइसोलेसनमा बसिरहेका छन् ।

भक्तपुरको सूर्यविनायकस्थित राष्ट्रिय बाणिज्य बैंकमा रकम झिक्न पुगेका सर्वसाधारणको भीड । तस्वीर: रमेश गिरी

नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका विभिन्न शाखाका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । एभरेस्ट, एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, सनराइज, नेपाल इन्भेस्टमेन्ट बैंक, लक्ष्मी बैंक, नबिल बैंक, एनएमबी बैंक, प्राइम कमर्सियल बैंकका कर्मचारीमा कोरोना पोजिटिभ देखिएको छ ।

प्राइम कमर्सियल बैंकको मुख्य कार्यालयमा मात्रै करिब डेढ दर्जन कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न बैंकका न्युरोड, थापाथली, पुलतीसडक, कमलादी, लाजिम्पाटमा रहेका शाखा तथा एक्सटेन्सन काउन्टरमा कोरोना संक्रमित कर्मचारी भेटिएको छ ।

सानिमा बैंक, एनआइसी एसिया बैंक, सिभिल बैंक, सिद्धार्थ बैंक, मुक्तिनाथ विकास बैंकका कर्मचारीमा पनि कोरोना संक्रमण भएको छ । यस साता मात्रै नेपालगन्ज, वीरगन्ज, विराटनगर, धनगढी, धादिङ, भैरहवा, हेटौंडा, लहानसहित काठमाडौंका बैंकका कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो । काठमाडौं उपत्यकाभित्र रहेका बैंकका केन्द्रीय कार्यालय तथा शाखाहरूमा कोरोना संक्रमण देखिन थालेपछि बैंकिङ क्षेत्र त्रसित हुन थालेको छ ।

भूगोलपार्कस्थित नेपाल बैंक लि.को प्रधान कार्यालय

यो समाचार आजको राजधानी दैनिकमा पूर्णभक्त दुवालले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.