भ्रातृत्व, प्रेम र सद्भावको पर्व ‘अटवारी’ 

गुलरिया, ६ भदौ : नेपालको तराई क्षेत्रका प्रकृतिपूजक मूल बासिन्दाका रूपमा चिनिने थारूहरुको अन्य जाति र समुदायजस्तै उनीहरुको पनि समय र मौसमअनुसार संस्कृति रहेका छन् । त्यसमध्येमा थारू जातिको माघीपछिको दोस्रो ठूलो पर्व ‘अटवारी’ लाई मानिन्छ । योे पर्वमा खास गरेर पुरुषहरु निराहार व्रत बसेर मनाउँछन् । यद्यपि केही इच्छाअनुसार महिलाहरु पनि व्रत बस्ने गरेको पाइन्छ ।

‘अटवारी’ खुशीयालीको पर्व हो । अटवारी थारू महिलाले मनाउने ‘अष्टिम्की’ (कृष्ण जन्माष्टमी) पछि लगत्तैको कुशे औँशीपछिको पहिलो आइतबारको दिनलाई ‘बर्का अटवारी’ पर्वका रुपमा मान्ने चलन छ । यस वर्ष भदौ ७ गते अटवारी पर्व थारू समुदायमा मनाइँदै छ । ‘अटवारी’, कुशेऔँशीको पहिलो आइतबार ‘बर्का अटवारी’को रूपमा मानिन्छ भने कोही–कोही त्यसपछिको चारसहित पाँच आइतबार ‘अटवारी’ व्रत बस्ने गर्छन् ।

थारू संस्कृतिबारेमा ज्ञान राख्दै आएका थारू अगुवा रेशम थारूले कुनैै वर्ष समय अनुकूल नभए गाउँमा हैजालगायतका रोगको प्रकोप बढी देखिए वा दैविक प्रकोपका कारण समय हेरेर अटवारी पर्व मान्ने चलन पनि रहेको बताउनुभयो । यसो गर्दा पाँच अटवारी व्रत बस्ने सबै आइतबार व्रत बस्न सक्दैनन् र अँटवारी पनि फरक फरक मितिमा मनाउने बाध्यात्मक समस्या देखापर्छ ।

रुपन्देही, नवलपरासी, चितवनलगायतका पूर्वका केही जिल्लामा मनाइने विधि प्रक्रिया पश्चिमका जिल्ला भन्दा फरक छ । कपिलवस्तु, दाङ देउखुरी, बाँके, बर्दिया, कैलाली, सुर्खेत र कञ्चनपुरका थारूमा यो पर्वका बिषयमा धारणा फरक फरक भए पनि विधि प्रक्रियामा भने एकरुपता पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.