पाटन अस्पतालमा २ सहित ३ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं, ५ भदौ : ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दोलखा जिल्लाकी एक महिला र सर्लाही जिल्लाका एक पुरुष रहेका छन् । दोलखा निवासी ३० वर्षीया महिला र सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र ललितपुरले जनाएको छ ।

सङ्क्रमणका कारण मृत्यु
झिमरुक : प्युठानका एक कोरोना बिरामीको मृत्यु भएको छ ।
जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं ७ का ६४ वर्षीयको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको स्वास्थ्य कार्यालय प्युठानका सूचना अधिकारी एवं कोभिड –१९ फोकल पर्सन पुष्कल श्रेष्ठले बताउनुभयो ।
गत साउन २६ गते भारतबाट आएर क्वारेन्टिनमा बस्नुभएका उहाँको कोरोना परीक्षण गर्दा साउन ३२ गते रिपोर्ट पोजेटिभ आएको थियो । सास फेर्न गाह्रो भएको र ज्वरो आएकाले उपचारका लागि यही भदौ १ गते उहाँलाई बुटवल पठाइएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । उहाँ मधुमेह र र रक्तचापका बिरामी हुनुहुन्थ्यो ।
