पहिरोग्रस्त लिदीको बस्ती स्थानान्तरण गरिने 

काठमाडौँ, ३१ साउन : गृहमन्त्री रामबहादुर थापाले सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीको बस्ती स्थानान्तरण गरी उचित स्थानमा बासस्थानको व्यवस्था मिलाउने बताउनुभएको छ ।

पहिरोग्रस्त क्षेत्रमा शुक्रबार पुगेर स्थलगत अनुगमनपछि उहाँले सो कुरा बताउनुभएको हो । बिहान खसेको पहिरामा परेर त्यहाँ ११ जनाको मृत्यु भएको छ भने २७ बेपत्ता छन् ।

मन्त्री थापाले अझै ठूलो क्षति हुन सक्ने अवस्था देखिए पनि पूर्वसावधानी अपनाउँदा कम क्षति भएको बताउनुभयो । सरकारको तर्फबाट उद्धार कार्यलाई छिटोभन्दा छिटो अघि बढाउने र पुनःनिर्माणको काम तिब्र बनाउने गृहमन्त्रीको भनाइ थियो ।

सिन्धुपाल्चोकको जुगल गाउपालिका २, लिदीमा गएको पहिरोबाट भएको क्षति तथा विस्थापित परिवारको अवस्थाबारे जानकारी लिँदै गृहमन्त्री रामबहादुर थापा । तस्वीरः किरण भट्टराई

शुक्रबार गृहमन्त्री थापा राहत सामग्रीसहित घटनास्थलमा पुग्नुभएको थियो । उहाँले लिदी गाउँ जोखिमयुक्त ठाउँमा रहेको निश्कर्षका आधारमा स्थानीय प्रशासनले सचेतना अपनाउन आग्रह गरे पनि क्षति भएको भन्दै दुख व्यक्त गर्नुभयो ।

मन्त्री थापाले भन्नुभयो, “उहाँहरु साँझ सरेर अर्कै ठाउँमा बाँस बसेपनि बिहान घरमा फर्किएको समयमा पहिरो आएकोले क्षति हुन पुग्यो ।” पहिलो काम बेपत्ताहरुको खोज तथा उद्धार भएको भन्दै त्यसमा सक्रिय रुपमा सुरक्षाकर्मी खटिरहेको उहाँले बताउनुभयो । उद्धार सकिएपछि वस्ती स्थानान्तरण गरी पीडितहरुका लागि उपयुुक्त स्थानमा वासस्थानको व्यवस्था मिलाउन प्रक्रिया शुरु गरिने उहाँले आश्वासन दिनुभयो ।

गृहमन्त्री थापासँगै ४० परिवारका लागि पुग्ने राहत सामग्री पु¥याइएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार ४० थान चाइनिज पाल, ४० वटा त्रिपाल सेट, ४० सेट भाँडा वर्तन, ४० वटा ब्ल्याकेट, ४० म्याट्रेस, ४० बाल्टिन, ४० जग, ५० प्लाष्टिकको ग्यालिन ६० थान पञ्जा लगिएको हो । सोही क्रममा मन्त्री थापाले तत्कालीन राहत सामग्रीका लागि सरकारको तर्फबाट रु दुई लाख हस्तान्तरण गर्नुभयो ।

पहिरामा मृत्यु भएका ११ को सनाखत

जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान गएको पहिरामा परी मृत्यु भएका ११ जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मृत्यु हुनेमा पुरुष दुई, महिला चार र बालबालिका पाँच जना छन् । पहिरामा परेका २७ अझै बेपत्ता छन् । मृत्यु हुनेमा पिर्ती दोङ, धनमाया दोङ, टीकामाया दोङ, छिरिङ दोङ, जिताइ झाँक्री, मिलन दोङ, सानू दोङ, जयबहादुर दोङ, दावाल्हामु दोङ, तारल्हमो दोङ र रिमेक्स दोङ रहेका छन् ।

आज बिहानैबाट सेना प्रहरी र स्थानीयले पहिरामा पुरिएकाको खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.