काठमाडौं उपत्यकामा आज रातिबाट भेला, प्रदर्शन र जात्रा सञ्चालनमा रोक
काठमाडौं, ३० साउन : शुक्रबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले खुला स्थानमा भेला हुने, भिडभाड गर्ने र सभाजुलुस गर्न निषेध गरेको हो ।
काठमाडौं जिल्ला प्रशासन कार्यलयले उपत्यकामा कोभिड १९ संक्रमण बढ्दै गएको भन्दै एक दर्जनभन्दा बढि काम कारवाही र व्यवसाय गर्न निषेध गरेको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा सार्वजनिक स्थलमा भेला हुन, प्रदर्शन गर्न र पारिवारिक जमघटमा पनि रोक लगाइएको छ ।
प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जारी गरेको आदेशअनुसार शुक्रबार राति १२ बजेदेखि भदौ १५ गते राति १२ बजेसम्म विभिन्न गतिविधिमा रोक लगाइएको छ ।
जारी आदेशअनुसार खुला स्थानमा मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न र सभा जुलुस गर्न पाइनेछैन ।
त्यस्तै भीडभाड हुने गतिविध गर्न पाइनेछैन । दैनिक हुने नित्यपुजा बाहेकका सम्पूर्ण धार्मिक गतिविधिहरु बन्द गरिनेछ । उद्योग व्यापार अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलापहरु गर्न पाइनेछैन ।
चाडपर्वलगायतका धार्मिक सांस्कृतिक कार्य गर्नका लागि हुने जमघट गर्न पाइनेछैन ।
शैक्षिक संस्थाहरु सञ्चालन गर्न पाइने छैन भने सबै प्रकारका सभा, गोष्ठी, तालिम सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, शैलून, ब्युटी पार्लर, स्पा, स्वीमिङ पूल, जिमखना, समूहमा खेलिने खेलकूद र खेल प्रस्तुति, पुस्तकालय, संग्रहालय, चिडियाखाना संचालन गर्न पाइनेछैन ।
फुटपाथ, खुला ठाउँ र ठेलागाडा वा साइकलमा हुने विभिन्न व्यवसाय, कवाडी संकलन गर्न पाइनेछैन ।
उद्योग व्यवसाय सञ्चालनका लागि स्वास्थ्य मापदण्ड विपरीत श्रमिक–कामदारको ओसार पसार गर्न पाइनेछैन भने होटल तथा रेष्टुराँमा टेक अवेमात्रै सञ्चालन गर्नुपर्नेछ ।
साउन ३० गते राति १२ बजेदेखि भदौ १५ गते राति १२ बजेसम्मको लागि सो प्रतिबन्ध लगाइएको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले शुक्रबार साँझ जारी गरेको छुट्टाछुट्टै आदेशमा उल्लेख गरिएको छ ।

