पत्रकार बलराम बानियाँ मकवानपुरमा मृत फेला

काठमाडौं, २८ साउन : तीन दिनदेखि बेपत्ता कान्तिपुर दैनिकका पत्रकार बलराम बानियाँ मृत अवस्थामा फेला परेका छन् ।

उनको शव मकवानपुरको मान्डु हाइड्रोपावरको फिल्टरमा अड्किएको अवस्थामा फेला परेको हो । शव बानियाँकै भएको उनकी छोरीले यकिन गरेको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए ।

सिस्नेरीस्थित माण्डो जलविद्युत् परियोजना क्षेत्रमा शव भेटिएको थियो । अहिले उनको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ ।

बानियाँ सोमबार दिउँसोदेखि सम्पर्कविहीन भएका थिए । बल्खु खोलामा उनको जुत्ता फेला परेको थियो । उनको मोवाइल लोकेसन र सोहि आधारमा प्रहरीले अनुसन्धान थालेको थियो ।

बानियाँ अन्तिमपटक बल्खुमा देखिएका थिए । सीसीटीभी फुटेजबाट प्रहरीले उनी बल्खुमा रहेको पुष्टि गरेको थियो । उनी वाग्मती नदीमा लडेको हुनसक्ने र खोलाले बगाएर मकवानपुर पुर्‍याएको प्रहरी भनाइ छ । बानियाँको शव मकवानपुरस्थित अस्पतालमा राखिएको छ ।

स्थायी घर तनहुँ रहेका बानियाँ दुई दशकदेखि कान्तिपुर दैनिकमा काम गर्दै आएका थिए ।

दुई दशकदेखि पत्रकारितामा सक्रिय बानियाँ पछिल्लो समय कान्तिपुरमा कार्यरत थिए । उनले नागरिक दैनिकमा समेत काम गरेका थिए । सुशासन, कर्मचारीतन्त्र र राजनीतिक विषयमा बानियाँले कलम चलाउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.