लामो दुरीको सवारी साधन र हवाई उडान भदौ १६ गतेदेखि खुल्ने
काठमाडौँ, २६ साउन : सरकारले भदौ १ गतेदेखि सुचारु गर्ने भनेको लामो दुरीका सवारी साधन र हवाई यातायात भदौ मसान्तसम्म बन्द राख्ने निर्णय गरेको छ ।
सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । भदौ १ गतेदेखि लामो दुरीका सवारीसाधन र हवाई उडान सुरु गर्ने तयारी गरेको भए पनि त्यसलाई पनि रोक लगाइएको छ । सरकारले अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १६ गतेदेखि खोल्ने निर्णय गरेको छ ।
सरकारले यसअघि गरेको निर्णयअनुसार भदौ १ गतेबाट विद्यार्थी भर्ना लिन सकिने थियो । तर सोमबारको निर्णयअनुसार भदौ १ गतेबाट गर्ने भनिएका सबै काम भदौ मसान्तसम्म लम्ब्याइएको छ ।
त्यस्तै भदौ एक गते देखि संचालनको तयारीमा रहेको अन्तर्राष्ट्रिय र आन्तरिक उडान पनि रोक लगाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक उडानहरु, प्रशिक्षण खेलकुद, विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा संचालनजस्ता कार्यहरु आगामी भदौ मसान्तसम्म स्थगित गर्ने,” सीसीएमसीले सरकारलाई सिफारिस गरेको थियो । सोहीअनुसार निर्णय गरेको एक मन्त्रीले बताए ।
मन्त्रिपरिषदको बैठकले भारतबाट आउने नेपालीहरुका लागि तोकिएको प्रवेश बिन्दु २० बाट १० मा झारेको छ भने अन्यत्रबाट आउनेहरुलाई पूर्ण रुपमा निशेष गर्ने निर्णय गरेको छ ।
कलकारखाना, उद्योग, निर्वाध रूपमा सञ्चालन भइ मजदुरहरूको दैनिक आवतजावत बढेकाले संक्रमणको जोखिम पनि बढेको हुनाले उद्योग तथा कलकारखानाभित्र क्वारेन्टिनको व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पुरा गरेपछि मात्रै सञ्चालन गर्न दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

साथै उपत्यका प्रवेश गर्ने नाकामा पनि कडाई गर्ने निर्णय गरेको छ ।
