रामको जन्मभूमि माडी नै हो, भब्य मन्दिर बनाउनुस् : प्रधानमन्त्री
काठमाडौँ, २४ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान श्रीरामको जन्मभूमि नेपाल नै भएको ठोकुवा गर्दै अध्योध्याको मास्टर प्लान बनाउन माडीका जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बृहत् गुरुयोजना नै बनाएर भगवान् श्रीरामको जन्मस्थल अयोध्याधामको काम शुरु गर्न चितवन माडीका जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज चितवनको माडी नगरपालिकाका प्रमुखलगायत जनप्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्रीले रामको जन्मभूमि नेपालमा नै भएकाले बृहत् योजनाका साथ काम शुरु गरिहाल्न आग्रह गर्नुभएको माडी नगरपालिकाका उपप्रमुख ताराकुमारी काजी महतोले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले टेलिफोन गरेर बोलाएपछि माडी नगरपालिकाका जनप्रतिनिधिहरु शनिबार साँझ बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्रीले अयोध्यापुरीमा राम, लक्ष्मण, सीता र हनुमानको मूर्तिसमेत राखी आगामी रामनवमी भव्यताका साथ मनाउने बताउनुभएको थियो । ऐतिहासिक तथ्य र प्रमाणका आधारमा राम जन्मभूमि माडीको अयोध्यापुरीमै भएको हो भन्दै प्रधानमन्त्रीले मन्दिर निर्माणलगायत काममा सरकारका तर्फबाट पनि सहयोग उपलब्ध हुने बताउनुभएको उपप्रमुख महतोले उल्लेख गर्नुभयो ।
झण्डै दुई घण्टा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले लामो व्याख्या गर्दै रामको जन्मभूमि माडीको अयोध्यापुरी नै भएको बताए । ‘रामको जन्भभूमि अयोध्यापुरी नै हो । त्यहाँ रामको भब्य मन्दिर बनाउनुस्’ माडीका जनप्रतिनिधिलाई प्रधानमन्त्री ओलीले भने, ‘त्यो क्षेत्रलाई अयोध्याधामकै रुपमा विकास गर्न मास्टर प्लान बनाएर पठाउनुुस् ।’
प्रधानमन्त्री ओलीले विसं २०७८ सालको दशैंमा मूर्ति अनावरण गर्ने गरी राम र सीताको मन्दिर बनाउन निर्देशन दिएको माडीका मेयर ठाकुरप्रसाद ढकालले बताए । तर यहाँ उत्खनन् गर्ने भन्दापनि शास्त्रीय मान्यतालाई नै आधार मानेर मन्दिर बनाउनुपर्ने उनले बताए ।
प्रधानमन्त्री ओलीले माडी नगरपालिकाको नाम परिर्वतन गरेर अयोध्यापुरी राख्नसमेत सुझाएका छन् । नगरसभामा सहमति जुट्छ भने नाम पनि फेर्न सुझाएको ढकालले स्वीकार गरे ।
माडीमा सहज यातायातका लागि समेत असुविधा भएको जनाउँदै स्थानीय जनप्रतिनिधिले वैकल्पिक उपाय अपनाएर भए पनि सडक निर्माण गर्नुपर्ने र त्यसका लागि सङ्घीय सरकारले सहजीकरण गरिदिनुपर्ने माग प्रधानमन्त्रीसमक्ष राखेका थिए ।
स्थानीय जनप्रतिधिको मागलाई सकारात्मकरूपमा लिँदै प्रधानमन्त्रीले आवश्यक निर्णय गरिने विश्वाससमेत दिलाउनुभएको उपप्रमुुख महतोले जानकारी दिनुभयो । केही दिन पहिले चेपाङ समुदायको घर राष्ट्रिय निकुञ्जले जलाइदिएको जनाउँदै उनीहरुको उचित बसोबासको व्यवस्था गरिदिन जनप्रतिनिधिले प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।
उक्त आग्रहलाई सकारात्मकरूपमा लिँदै प्रधानमन्त्रीले वन तथा वातावरण मन्त्रालय र निकुञ्ज कार्यालयलाई आवश्यक निर्देशन दिइने बताउनुभएको थियो ।
