उपत्यकाका ६२ सहित ३७८ जनामा कोरोना संक्रमण पुष्टि, ४९९ जना डिस्चार्ज भए

काठमाडौँ, २४ साउन : पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न स्थानमा ३७८ जना कोरोना संक्रमित थप भएका छन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लोपल्ट ३७८ जना कोरोना संक्रमित थप भएका हुन् । जसमा काठमाडौंका ५६, ललितपुरका ३ र भक्तपुरका ३ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा ४९९ जना कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ७ हजार ७८८ जनाको परीक्षण भएको छ भने हाल सक्रिय संक्रमितको संख्या ६ हजार २०६ रहेको छ ।
यसैगरी, विगत २४ घण्टामा चार सय ९९ जना कोरोना निको भएर घर फर्किएको डाक्टर गौतमले जानकारी दिए । अहिलेसम्म कोरोना निको भएर १६ हजार तीन सय १३ जना घर फर्किसकेका छन् ।
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुग्यो
नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ७३ पुगेको छ । पछिल्लो विवरणअनुसार थप ३ जनाको मृत्यु भएसँगै संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ७३ पुगेको हो ।
आज थपिएका ३ जना मृतकमा पर्साका ७४ वर्षीय पुरुष, मोरङका ५८ वर्षीय पुरुष र काठमाडौंको टोखाकी ४१ वर्षीय महिला रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।
काठमाडौंको टोखा नगरपालिका ६ बस्ने ४१ वर्षीया महिलाको साउन २३ गते कोरोनाबाट मृत्यु भएको हो । उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
यसैगरी मोरङको विराटनगर महानगरपालिका ९ का ५८ वर्षीय पुरुषको पनि साउन २३ गते उपचारका क्रममा कोसी अस्पतालमा मृत्यु भएको हो । उनी उच्च रक्तचाप र निमोनियाका विरामी थिए ।
यस्तै पर्साको वीरगञ्ज महानगरपालिका ३ छप्कैयाका ७४ वर्षीय वृद्धको पनि कोरोना संक्रमणबाट मृत्यु भएको हो । मधुमेह र दमबाट पीडित ती वृद्धको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
कोरोनाबाट नेपालमा अहिलेसम्म ७३ जनाको मृत्यु भइसकेको छ ।
