उपत्यकाका ८७ जना सहित ३६० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको कुल संख्या २१ हजार ७५० पुग्यो

काठमाडौं, २२ साउन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ ।

बितेको २४ घण्टामा काठमाडौंमा ७६ भक्तपुरका १ र ललितपुरमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बुधबार देशभर ३८१ कोरोना भाइरस संक्रमित थपिएका थिए भने १३० जना डिस्चार्ज भएका थिए ।

यो संगैं देशभर सक्रिय संक्रमितको ६ हजार २९६ संख्या रहेको छ ।

प्रदेश १ मा ३५८, प्रदेश २ मा २ हजार ६९३, वागमती प्रदेशमा ८३५, गण्डकी प्रदेशमा २८०, प्रदेश ५ मा ३७७, कर्णलाी प्रदेशमा २६३  र सुदूरपश्‍चिममा एक हजार ४९० सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी, देशभरका क्‍वारेन्टिनमा ९ हजार ४७० मानिसहरु रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट २३३ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १५ हजार ३९९ जना डिस्चार्ज भएका छन् ।

कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट थप पाँचजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङका २ जना, सर्लाही, धनुषा र सप्तरीका एक-एक जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।

उनका अनुसार मोरङका ४५ वर्षीय पुरुषको साउन २१ गते कोशी अस्पतालमा मृत्यु भएको र उनमा कोरोना परीक्षणबाट पोजेटिभ देखिएको हो । मोरङका एक ४५ वर्षीय अर्का पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
त्यसैगरी सर्लाही ६५ वर्षीया महिला साउन २१ गते काठमाडौंको बलम्बुमा मृत्यु भएको छ ।

धनुषाका ७२ वर्षीया महिलाको साउन १७ गते मृत्यु भएको र उनका पनि कोरोना देखिएको हो । उनको साउन १७ बिहान निधन भएको हो ।

सप्तरीमा ४२ वर्षीय पुरुषको साउन २१ गते राति निधन भएको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।

अख्तियारमा २० जनामा सङ्क्रमण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २० कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण देखिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले मङ्गलबार गरिएको ८० जनाको परीक्षणमा २० जना कर्मचारीको सङ्क्रमण देखिएको जानकारी दिनुभयो ।

यसअघि आयोगमा १५ जना कर्मचारीमा सङ्क्रमण देखिएको थियो । ती सङ्क्रमण देखिएका अधिकांश अग्रपङ्क्तिमा काम गर्ने कर्मचारी र सुरक्षाकर्मी छन् ।

यसैगरी गत मङ्गलबार नै महाशाखाले प्रधानमन्त्री निवास बालुवाटार र परराष्ट्र मन्त्रालयका कर्मचारीमा गरेको परीक्षणमा भने सङ्क्रमण नदेखिएको पौडेलले बताउनुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा ६० र परराष्ट्र मन्त्रालयका १८ कर्मचारीको स्वाब सङ्कलन गरिएको थियो ।

अख्तियारमा थुनुवा र सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दा नजिक रहेका कर्मचारीको तथा परराष्ट्रमा जापानबाट आएका एक जनामा सङ्क्रमण भेटिएपछि उनी नजिकका कर्मचारीको परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो ।

यसैगरी महाशाखाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सर्वाेच्च अदालत र जिल्ला अदालत काठमाडौँमा कोभिड–१९ परीक्षणका लागि स्बाव सङ्कलन गरिरहेको छ । मन्त्रालयमा ८२, सर्वोच्च र जिल्ला अदालतमा ३०० जनाको स्वाब सङ्कलन गरिएको महाशाखाका मेडिकल टेक्नोलोजिस्ट पौडेलले जानकारी दिनुभयो ।

यसअघि महाशाखाले अग्रपङ्क्तिमा काम हुने कार्यालय बैंक, मालपोत तथा नापी, यातायात कार्यालयमा काम गर्ने पाँच हजार कर्मचारीको पिसिआर परीक्षण गरेको थियो ।

अध्यक्ष दाहालसहित परिवारका सदस्यको कोरोना ‘नेगेटिभ’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसहित परिवारका सदस्य एवं सचिवालयका सदस्यको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको छ । अध्यक्ष दाहाललगायत परिवारका सम्पूर्ण सदस्य, सुरक्षाकर्मी र सचिवालयका सदस्यमा कोरोना परीक्षण गर्दा अध्यक्षको बाहिरी सुरक्षा घेरामा खटिएका छ सुरक्षाकर्मीमा मात्र सङ्क्रमण पुष्टि भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

बाहिरी घेरामा खटिने छ सुरक्षाकर्मीबाहेक अन्यको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको अध्यक्ष दाहालका निजी सचिव गङ्गा दाहालले जानकारी दिनुभयो । कुपण्डोलमा रहेको बिध म्यानेजमेन्ट प्रालिद्वारा सञ्चालित कोभिड ल्याबमा अध्यक्ष दाहाल, परिवार, सचिवालयका सदस्य र सुरक्षाकर्मीलगायत ५३ जनाको कोरोना परीक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.