पर्यटकीयस्थलको खानी : तनहुँ
कृष्ण न्यौपाने । दमौली, १० असोज
‘स्वर्गको टुक्रा हो कि धर्तीको भनौँ
नेपालको बीचमा छ मेरो प्यारो तनहुँ’
तनहुँ क्यामिनका आरसी रेग्मीले रचना गर्नुभएको र गायक प्रमोद खरेलले गाउनुभएको यो गीतले साच्चिकै तनहुँ पर्यटकीयस्थलको खानी हो भन्ने पुष्टि गर्छ ।
नेपालकै मध्यभागमा रहेका तनहुँ पर्यटकीयस्थलको खानी हो भन्नेमा कुनै दुई मत छैन । प्रख्यात धार्मिक तीर्थस्थल देवघाटधाम र पर्यटकीय नगरी बन्दीपुर यही जिल्लामा पर्छ । राजधानी काठमाडौँदेखि ११० किमी र पर्यटकीय नगरी पोखराबाट १९ किमी पूर्वमा अवस्थित तनहुँ विश्व मानचित्रमा ८३०७५’ देखि ८४०३४’ पूर्वी देशान्तर, २७००३’ देखि २८००५’ उत्तरी अक्षांशसम्म फैलिएको छ । एक हजार ५४६ वर्गकिलोमिटर भू–भागमा फैलिएको यस जिल्लाले धरातलीय स्वरुपअनुसार समुद्र सतहबाट २५० मिटरमा अवस्थित देवघाट क्षेत्रदेखि २३२५ मिटर उचाइको छिम्केश्वरी लेकसम्मलाई समेटेको छ ।
यहाँको करीब ८० प्रतिशत बसोबास ग्रामीण क्षेत्रमा छ । प्रमुख बजार सदरमुकाम दमौली, बन्दीपुर, डुम्रे, आँबुखैरेनी, खैरेनीटार, दुलेगौँडा, भीमाद, थर्पु आदि हुन् । मुख्य फाँटमा चुँदी, कलेस्ती, छाब्दी, बुल्दी, स्याम्घा, सुखौरा, ढार, साराङघाट आदि हुन् । सांस्कृतिक ग्राममा पुलिमराङ, हिलेखर्क, धरमपानी, झारगाउँ, फिरफिरे, थप्रेक, छापथोक, टुटेपानी (गुरुङ्ग), गङ्गलीथोक, रहु, गोल्ला, कोइदिम, रुम्सी, मानहुँ, केशवटार (मगर), दगाम (गुरुङ तथा मगर), रिसिङ रानीपोखरी, घिरिङ, सुन्धारा, मैवल, दलभञ्ज्याङ (नेवार), एक्लेखेत (पुन), ग्वास्लुङ (ठकुरी), दुम्सी, सिमलटार, रतौली, खर्कौली, पोल्याङ (दरै), लामीडाँडा (भुजेल), चामबास (तामाङ), बोटेटार र कुमालटार रहेका छन् ।
पर्यटनमा फड्को
पछिल्लो समयमा तनहुँले पर्यटनमा केही फड्को मार्न सफल भएको छ । जिल्लामा पर्यटकीय सम्भावना बोकेका थुप्रै ठाउँ छन् जसले पर्यटकलाई आकर्षित गर्न सफल भएको छ ।
तनहुँको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा पहाडकी रानी नामले चिनिने बन्दीपुर छ । बन्दीपुर नेपालमा मात्रै नभई विदेशमा समेत प्रख्यात स्थल हो । कुनैबेला भारतको विभिन्न शहर हुँदै तिब्बतसँगको मुख्य व्यापारिक केन्द्र थियो, बन्दिपुर । पश्चिमको अपि, शैपालदेखि धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध हिमालदेखि पूर्वमा गणेश, लाङटाङलगायत सयौँ चुचुरा यहाँबाट देख्न पाइन्छ । नेवारी कला र संस्कृतिमा निर्माण गरिएका भक्तपुरे शैलीका घर बन्दीपुरको प्रमुख आकर्षण हो । दक्षिण एसियाकै ठूलो दाबी गरिएको सिद्धगुफा पनि बन्दीपुरको मुख्य आकर्षण हो ।
व्यास नगरपालिकामा रहेको छाब्दी बाराही मन्दिर, शुक्लागण्डकीको ढोरबाराही मन्दिर, म्याग्देको अकला मन्दिर, शुक्लागण्डकीको मुक्तिनाथ च्यवनधाम लगायतले पनि तनहुँको पर्यटनमा आयाम थपिरहेको छ ।
पर्यटनको प्रचुर सम्भावना
तनहुँ पर्यटन विकास समितिका अध्यक्ष हरिसिंह गुरुङले प्रदेशको राजधानी पोखराबाट नजिकै रहेको तनहुँलाई पर्यटनको प्रचुर सम्भावना बोकेको जिल्लाका रुपमा चित्रण गर्नुहुन्छ ।
तनहुँको पर्यटकीयस्थल तनहुँसुर, बन्दीपुर, भानु जन्मस्थललगायतका गाउँमा पर्यटक पु¥याउन सकिए यसबाट तनहुँको विकासमा ठूलो टेवा पुग्ने धारणा उहाँको छ । पर्यटकलाई लक्षित गरी तनहुँका १४ गाउँमा होमस्टे (घरबास) सञ्चालन छ । भानुको टुटेपानी, हिलेखर्क, मिर्छुलुङ, छिम्केश्वरी, धरमपानी, नावरुङ, रानागाउँ, थप्रेक, रघु, छापथोक, दगाम, रामकोट लगायतका गाउँमा होमस्टे सञ्चालन भइरहेको छ ।
तनहुँको पर्यटन प्रवद्र्धन गर्दै पर्यटनबाटै जिल्लालाई समृद्ध बनाउने अभियानसहित जिल्लामा भेटघाट वर्ष शुरु भएको छ । जिल्ला समन्वय समितिले यो वर्षलाई भेटघाट वर्षका रुपमा मनाउने र तनहुँ बाहिर रहेका सबैलाई यो वर्ष तनहुँमा जुटाउने अवसर सिर्जना गर्न लागिपरेको छ । त्यसको शुरुआत बन्दीपुरबाट भइसकेको छ । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले पर्यटनबाटै जिल्लाको समृद्धि सम्भव रहेको बताउनुहुन्छ । “पर्यटनबाटै जिल्लाको समृद्धि सम्भव छ, त्यसका लागि सबै स्थानीय तह लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।
पर्यटन विकासका लागि स्थानीय तहले विविध योजना बनाएका छन् । त्यसमा निजी क्षेत्रसमेत हातेमालो गर्दै अगाडि बढिरहेका छन् । स्थानीय तहले बनाएको योजना पूरा गर्नका लागि निजी क्षेत्रसमेत सक्रिय भएका छन् ।
व्यास क्षेत्रमा बन्दै १०८ फिटको मूर्ति
पर्याप्त सम्भावना रहेर पनि पछि परेको व्यास क्षेत्रको विकासका लागि बेदव्यासको १०८ फिटको मूर्ति निर्माणको काम अघि बढेको छ । करीब २७ करोडको लागतमा मूर्तिसहित विभिन्न संरचना निर्माण गर्ने उद्देश्य राखिएको छ ।
व्यास क्षेत्र विकास कोषले व्यास क्षेत्रलाई धार्मिक पर्यटनको गन्तव्य बनाउने लक्ष्य राखेको छ । व्यास क्षेत्रलाई व्यास ग्रामका रुपमा अघि बढाउने लक्ष्य रहेको कोषका अध्यक्ष अशोककुमार श्रेष्ठ बताउनुहुन्छ । यस ठाउँमा १०८ फिटको तामाको मूर्तिका साथै पुस्तकालय, वाचनालय, प्रवचन गृह, गुरुकुल धर्मशालालगायत बनाउने लक्ष्य राखिएको छ । यस अभियानमा व्यास नगरपालिकाले समेत सहयोग गरेको छ । मूर्ति निर्माणका लागि नगरपालिकाले बजेट विनियोजन गरेको छ भने व्यास नगरभित्रै रहेको व्यास पराशर क्षेत्र, मानहुँकोट, तनहुँसुर, पुलिमराङ लगायतका क्षेत्रमा बजेट विनियोजन गरिएको छ ।
गुरुयोजना बनाउँदै देवघाट
नेपालको मात्र नभई विश्वका हिन्दूको धार्मिक तीर्थस्थलका रुपमा विकास हुँदै गइरहेको देवघाटको गुरुयोजना बनाउने तयारी गरिएको छ । पर्यटकीय गुरुयोजनामार्फत देवघाटलाई पर्यटनको केन्द्रबिन्दु बनाउन गाउँपालिकाले तयारी गरेको हो ।
तनहुँ, चितवन र नवलपरासीको सङ्गमस्थलमा रहेको देवघाटलाई तीनै जिल्लाका स्थानीय तहको समन्वयमा धार्मिक पर्यटन गुरुयोजना बनाउने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले बताउनुभयो । उक्त गुरुयोजना दातृ निकाय, प्रदेश सरकार, केन्द्र सरकार र निजी व्यवसायीको साझेदारीमा कार्यान्वयन गरिनेछ । पर्यटनको सम्भावना बोकेको आश्रम, धाम तथा धार्मिक क्षेत्रमा दृश्यावलोकन गर्न महोत्सव आयोजना गर्ने तथा सम्भावित क्षेत्रमा भ्युटावर, भ्यु प्वाइन्ट, सामुदायिक वनलाई पर्यटन प्रवद्र्धन, होमस्टे र पिकनिक स्पोर्टका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने सो गाउँपालिकाको योजना छ ।
बन्दीपुरमा केबलकार निर्माण
पछिल्लो समय तनहुँ पर्यटनको हवका रुपमा विकास हुन थालेपछि लगानीकर्ताले विविध योजना जिल्लामा भित्र्याउन थालेका छन् । त्यसैको पछिल्लो उदाहरण हो, बन्दीपुरमा केबलकार निर्माण । बन्दीपुर आफैँमा पनि एउटा प्रख्यात सुन्दर पर्यटकीय नगरी हो । यहाँ वर्षेनी लाखौँ स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् । पहाडकी रानी नामले चिनिने बन्दीपुरको पर्यटनलाई थप टेवा दिने उद्देश्यले केवलकारको काम अघि बढिसकेको छ । बन्दीपुर केबलकार प्रालिका अध्यक्ष तारानाथ उपाध्यायले केबलकार निर्माणपछि बन्दीपुरको पर्यटनमा थप टेवा पुग्ने बताउनुभयो ।
बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा बन्दीपुरमा निर्माणाधीन केबलकारले बन्दीपुरको पर्यटनमा ठूलो टेवा मिल्ने बताउनुहुन्छ । थापा बन्दीपुर आफैँमा एउटा पर्यटकीय हब रहेको र केबलकार निर्माणपछि बन्दीपुरको पर्यटन अझ विकास हुने बताउनुहुन्छ ।
पर्यटन अभियान चलाउँदै स्थानीय तह
पर्यटनबाटै जिल्लाको समृद्धि गर्ने सङ्कल्पसहित तनहुँका स्थानीय तह पर्यटन प्रवद्र्धनका लागि जुटेका छन् । स्थानीय तहले यो वर्षलाई भेटघाट वर्षका रुपमा मनाउने निर्णय गरिसकेका छन् ।
तनहुँका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले यो वर्षलाई भेटघाट वर्षका रुपमा मनाउन जिल्ला समन्वय समितिलाई प्रस्ताव गरेपछि जिल्लासभाबाटै यो प्रस्ताव पारित भएको थियो । “तनहुँ पर्यटनको खानी हो, पर्यटनबाटै जिल्लाको समृद्धि सम्भव छ”, प्रजिअ शर्माले भन्नुभयो, “यसको प्रचारप्रसार गर्न र यहाँका पर्यटकीयस्थल देखाउन जरुरी छ ।” तनहुँ घर भई देश तथा विदेशमा रहने सबै तनहुुँवासीलाई यो वर्ष तनहुँ बोलाउने र भेटघाट वर्षका रुपमा मनाउन आफूले प्रस्ताव गरेको उहाँले बताउनुभयो । “यसले गर्दा तनहुँको आन्तरिक पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्नेछ”, उहाँले भन्नुभयो ।
सोही अभियानअन्तर्गत बन्दीपुरले भदौ २२ र २३ गते बन्दीपुर भेटघाट अभियानको शुरुआत ग¥यो । यो अभियान वर्षभरि नै चल्ने गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा बताउनुहुन्छ । “बन्दीपुर घर भई देश तथा विदेशमा रहेका सबैलाई यो वर्ष बन्दीपुर आउन आह्वान गर्छौं”, उहाँले भन्नुभयो, “यसले बन्दीपुरको पर्यटन क्षेत्रको प्रवद्र्धनमा सकारात्मक भूमिका निर्वाह गर्छ ।”
