नहर अतिक्रमण हुँदा शहर डुबानमा

नारायण अधिकारी । चितवन, २१ साउन : भरतपुर महानगरपालिकाकाको मुख्य शहरी क्षेत्र हुँदै पश्चिम चितवन जाने नहर अतिक्रमण हुँदा शहरी क्षेत्र डुबानमा पर्ने गरेको छ । नारायणी लिफ्ट सिँचाइ आयोजनाको नहरका कतिपय शाखा पुरेर सडक निर्माण गर्दा पानी निकास हुन नसकी डुबान हुने गरेको हो ।

नहरको कतिपय भाग पुरेर सडक बनाइएको छ भने कतिपय ठाउँमा निजी तथा सार्वजनिक भवनसमेत बनाइएको छ । महानगरमा वर्षाको पानी जाने उचित निकास हुन नसक्दा शहरी क्षेत्र डुबानमा पर्ने गरेको हो । वर्षामा शहरी क्षेत्रमा परेको पानी नहर हुँदै जाने गर्दथ्यो ।

महानगरका मुख्य गरी १०, ११, १२ र ७ नम्बर वडा डुबानमा पर्ने गरेका छन् । महानगरको मुख्य बसोबास रहेको क्षेत्र डुबानमा परेको हो । नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन कार्यालय भरतपुरका प्रमुख इ खेमबहादुर पाठकका अनुसार नारायणी लिफ्टको बी पम्प हाउसबाट तानेको पानी सि एल १ क्यानलमार्फत आउने नहर पूरै मासिएको छ ।

भरतपुरको बसेनीबाट नहरचोक, मेडिकल कलेज, गेष्टहाउस चौर, कारागार, रिजालचोक हुँदै उक्त नहर प्रेमबस्तीसम्म पुगेको छ । पाठकका अनुसार नहरमा कालोपत्रे तथा कच्ची सडक, भवनजस्ता संरचना बनेका छन् । कार्यालयले पटकपटक सम्बन्धित निकायमा अतिक्रमण रोक्न पत्राचार गरेको भए पनि रोक्न नसक्दा अहिले शहरी क्षेत्र डुबानमा परेको उहाँले बताउनुभयो ।

पानीको निकास नभएपछि यहाँका सरकारी कार्यालय, निजी घर, सडक क्षेत्र, खाली जमिन पानीले भरिने गरेको छ । खुलारुपमा रहेका सार्वजनिक तथा निजी जमिन यतिबेला पानीले भरिएका छन् । नारायणी लिफ्ट सिँचाइ जलउपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटले सरकारी निकायकै संरक्षणमा नहर अतिक्रमण हुँदा अहिले शहरी क्षेत्र डुबेको र खेतीयोग्य जमिनमा सिँचाइ अभाव भएको बताउनुभयो ।

उहाँका अनुसार नहरको अन्तिम विन्दु प्रेमबस्तीलगायतका क्षेत्रमा नहरको पानी पुग्न नसक्दा सिँचाइमा समस्या हुने गरेको छ । रानाभाटले भन्नुभयो, “नहर पुर्नुहुन्नभन्दा कसैले टेरेन, अहिले निकास नभएर समस्या भएको छ ।” पटक पटक आफूहरुले पहल गरेको भए पनि अतिक्रमण रोक्न नसकेको गुनासो उहाँले गर्नुभयो ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल नहर मासिएकै कारण शहरी क्षेत्र डुबानमा परेको बताउनुहुन्छ । जथाभावी विकासका नाममा सडक बनाउँदा वर्षाको समयमा समस्या देखिने गरेको उहाँले बताउनुभयो । नहर अतिक्रमण रोक्ने काममा आफूले सहयोग गर्ने भन्दै उहाँले यस क्षेत्रलाई डुबान हुन नदिन केरुङ्गा घोल व्यवस्थित गर्न लागिएको बताउनुभयो ।

भरतपुर महानगरपालिका–१० को कार्यालय अगाडि सार्वजनिक कार्यक्रम गर्ने गरिएको गेष्ट हाउस चौरमा जमेको पानी । चौरको छेउ हुँदै जाने नारायणी लिफ्टको नहर पुरेर सडक बनाएपछि पानीले निकास नपाउँदा यस क्षेत्रका सरकारी कार्यालय पनि डुबानमा परेका छन । तस्बिरः नारायण अधिकारी

महानगर प्रमुख भएदेखि नै नारायणी लिफ्टको स्तरोन्नति गरी हिउँदमा समेत महानगर क्षेत्रमा सिँचाइ गर्नुपर्नेमा जोड दिँदै आउनुभएकी दाहालले केरुङ्गा घोललाई यहाँको जमेको पानीको निकाससँगै सुन्दरता प्रदान गरिने बताउनुभयो । जनप्रतिनिधिले नै बजेट विनियोजन गरेर नहरमा बाटो बनाउने काम भइरहँदा पानीको निकासमा समस्या पर्ने गरेको छ ।

लिफ्टले भरतपुर महानगरपालिकाको वडा नम्बर ४, ५, ६, ८, ९, ११, १२, १४, १५ लगायतका वडाका तीन हजार ५०० हेक्टर प्रत्यक्षरुपमा सिञ्चित गर्दै आएको छ । विसं २०४० मा स्थापना गरिएको यस लिफ्ट परियोजनाबाट आएको पानी खगेरी सिँचाइमा मिसाएर पश्चिम चितवनका अन्य वडामा पनि सिँचाइ गरिँदै आएको छ ।

वर्षायाममा मात्रै सञ्चालन हुँदै आएको लिफ्ट स्तरोन्नति गरेर आउँदो वर्षबाट हिउँदमा समेत सिँचाइ गर्ने तयारी गरिएको छ । नारायणी नदीबाट पानी तानेर नहरमार्फत सिँचाइ गरिँदै आएको छ । मुख्य शहरी क्षेत्रमा सिँचाइको आवश्यकता कम हुँदै गएपछि नहर संरक्षणमा समस्या भएको छ । त्यसको प्रभाव नहरको अन्तिम विन्दुमा रहेका किसानलाई भने परेको छ । नहर अतिक्रमण गरे पनि उचित ढलको व्यवस्थापन गर्न नसक्दा पानी जम्ने समस्या आएको हो । पानी जमेसँगै डेङ्गुलगायतका रोगको समेत समस्या थपिने चिन्ता स्थानीयवासीमा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.