उपत्यकाका ६२ सहित थप २५९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २१ हजार नाघ्यो

शर्मिला पाठक । काठमाडौँ, २० साउन : नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म जम्मा सङ्क्रमितको सङ्ख्या २१ हजार ९०० पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले देशभरका प्रयोगशालामा सात हजार ६८७ पिसिआर नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको बताउनुभयो । हालसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ९२५ रहेको छ ।

त्यसैगरी काठमाडौँ उपत्यकामा विभिन्न सात परीक्षण केन्द्रमा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमा काठमाडौँमा ४८, ललितपुरमा एक तथा भक्तपुरमा १३ व्यक्तिलाई कोरोना सङ्क्रमण देखिएको हो । हालसम्मा चार लाख छ हजार ५९४ को परीक्षण गरिएको छ ।  

सङ्क्रमितमध्ये १५ हजार २६ जना उपचार पछि निको भएर घर फर्केका छन् । आज थप एक जनाको कोरोनाको कारण मृत्यु भएको छ । मोरङ जिल्ला घर भएका ७७ वर्षका पुरुषको कोरोना सङ्क्रमणको कारण हिजो मृत्यु भएको हो । योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट ५८ जनाको मृत्यु भएको छ ।

सरकारले पछिल्लो समय काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकामा पनि परीक्षण गर्न थालेको छ । परीक्षणको क्रममा आज नागढुङ्गामा एक हजार ३०७ जनामा गरिएको परीक्षणमा १६, फर्पिङमा तीन हजार ४८२ जनामा गरिएको परीक्षणमा १३ र साँगामा छ हजार ६४ जनामा गरिएको परीक्षणमा ११ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जानकारी गराएको छ ।

हाल दश हजार ४५२ जना क्वारेन्टिनमा रहेका छन् । विगत २४ घण्टामा ६५ जना निको भएर घर फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.