आज मध्यरातबाट हट्यो १२० दिन लामो लकडाउन (सरकारको निर्णयसहित)
काठमाडौँ, ६ साउन : १२० दिन लामो लकडाउन मंगलबार मध्यरातदेखि अन्त्य भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको वैठकले चैत ११ गतेदेखि जारी लकडाउन साउन ६ अर्थात मंगलबार मध्यरातदेखि अन्त्य गर्ने निर्णय गरेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साउन ६ गतेको मध्यरातदेखि लागु हुनेगरी बन्दाबन्दी (लकडाउन) अन्त्य गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधीमन्त्री युवराज खतिवडाले जानकारी दिए ।
आम नागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न लक डाउन खुला गर्ने निर्णय भएको उनले बताए । लक डाउन खुलेपनि अवस्था हेरेर निषेधित क्षेत्र घोषणा गर्न सकिने उनले बताए ।
सरकारले आज रातिबाट लकडाउन खुला गर्ने निर्णय गरेपनि शैक्षिक संस्था, धार्मिक तथा सामाजिक स्थलहरु, ट्यूसन सेन्टर, सिनेमा हल, डान्सबार, सैलुन, व्युटिपार्ल र स्वीमिङ पुल लगायतका क्षेत्र अर्को निर्णय नभएसम्मका लागि बन्द नै रहने उनले बताए । यद्यपी विद्यार्थी भर्ना परीक्षाफल प्रकाशनका काम भदौ १ गतेबाट गर्न सकिने निर्णय भएको उनले बताए ।
सरकारले साउन १५ गतेबाट होटल, रेष्टुरेण्ट, ट्राभल र टेकिङ एजेन्सी र पर्वतारोहण सम्बन्धि कार्यालयहरु खुला गर्ने निर्णय गरेको छ । सेमिनार र भेला भने गर्न नपाइने उनले बताए ।

भदौ १ गतेबाट लामो दुरीका सवारी साधन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई उडान पनि सञ्चालन गर्ने निर्णय गरेको छ । त्यसका लागि स्वास्थ्य मन्त्रालयले तोकेका आवश्यक सुरक्षाका उपायहरु अपनाउन सरकारले सबैमा आग्रह गरेको छ ।
अन्तर्राष्ट्रिय सीमा नाकाको हकमा साउन ३२ गतेसम्म आवतजावत बन्द गरिएको उनले बताए । स्वदेश आउनै पर्ने नागरिकहरुको हकमा तोकिएका सीमा विन्दुबाट आउन पाइने तर कुलिछिपी आएको खण्डमा कानून अनुसार कारवाही हुने उनले बताए ।
कोरोन भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको थियो । पटक पटक म्याद थपेर जेठ २६ सम्म पूर्ण रुपमा कायम रह्यो । त्यसपछि निजी सवारी जोर विजोर प्रणालीमा र पसल सञ्चालन गर्न दिएको सरकारले क्रमशः लकडाउन खुकुलो बनाउँदै लगेको थियो ।
यस्तो छ मन्त्रिपरिषद्को निर्णय (पूर्णपाठसहित)
सम्बत् २०७७ साल साउन ५ गते सोमबार