कोरोना संक्रमणबाट काठमाडौंका २ सहित ३ जनाको मृत्यु, मृतकको संख्या ३८ पुग्यो

काठमाडौं, २७ असार : कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण नेपालमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । मृतकमध्ये २ जना काठमाडौं  र १ जना सिन्धुपाल्चोकका रहेका छन् ।

काठमाडौं महानगरपालिका-१० शंखमुलका ६० वर्षीय पुरुष, गोकर्णेश्वर-४ का ४५ वर्षीय पुरुष र सिन्धुपाल्चोक पाँचपोखरी ६ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं महानगरपालिका १० शंखमुलका ६० वर्षका पुरुषको असार २६ गते मृत्यु भएको हो । फोक्सोमा पानी जमेको र मृगौला रोगको कारण असार १६ गते पाटन अस्पताल भर्ना भएको ती पुरुषमा १७ गते स्वाव संकलन गरी परीक्षण गर्दा  पोजेटिभ देखिएको थियो ।

यस्तै काठमाडौंकै गोकर्णेश्वर नगरपालिका ४ का ५४ वर्षका पुरुषको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको उनले बताए ।  मृगौलाका बिरामी ती पुरुषको २५ गते निधन भएको हो । असार १९ गते ती पुरुष अस्पताल भर्ना भएका थिए । २१ गते स्वावको नमुना संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

यस्तै सिन्धुपाल्चोक पाँचपोखरी ६ का ४५ पुरुषको पनि २५ गते नै निधन भएको छ । असार १८ गते क्षयरोगको उपचारका लागि पाटन अस्पताल भर्ना भएका उनीमा २२ गते कोरोना पुष्टि भएको थियो ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

नेपालमा कोभिड-१९ संक्रमणबाट मृत्यु हुनेमा सिन्धुपाल्चोकका २, बाँकेमा २, गुल्मीका ३, बाराका १, ललितपुरका २, अर्घाखाँचीका २, दैलेखका २, बाजुराका १, दोलखा १, पाल्पाका १, सुर्खेतका १, कैलालीका ४, डोल्पाका १, स्याङ्जाका २, चितवनका १, विरगञ्जका १, पर्साका १, दाङका १, रौतहट १, अछाम १, म्याग्दी १ र काठमाडौं ३, गोरखा १, रुपन्देही १, बाग्लुङमा १ जना गरी ३८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.