सार्वजनिक सवारी नचलाउने यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्णय

काठमाडौं, २६ असार : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अहिलेकै अवस्थामा सवारी साधन सञ्चालन गर्न नसकिने बताएको छ । सरकारले आवश्यक सुरक्षा अपनाएर छोटो दुरीका सवारी सञ्चालन गर्ने निर्णय गरेसँगै महासंघले अहिलेकै अवस्थामा यातायात सञ्चालन गर्न नसकिने बताएको हो । 

सरकारले बिहीबार मात्रै जिल्लाभित्र र काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीलाई खुला गर्ने निर्णय गरेको थियो । तर व्यवसायीले सरकारसँग विभिन्न शर्तहरू राख्दै पूरा नभएसम्म सवारी चलाउन नसकिने निर्णय गरेको हो ।

महासंघको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले लकडाउन अवधिको बैंक किस्ता सार्नुपर्ने, ब्याज मिनाहा हुनुपर्ने, लक डाउनपछिको किस्ताका लागि समय सार्नुपर्ने र ब्याज पुर्नविचार गर्नुपर्ने लगायतका माग पुरा नभएसम्म यातायात सञ्चालन नगर्ने निर्णय गरेको छ ।

सरकारले सहुलियपूर्ण कर्जाको व्यवस्था नगरे धेरै व्यवसायीसँग गाडी सडकमा निकाल्ने खर्च नै नहुने उनीहरूको तर्क छ ।

थन्किएकै ठाउँबाट एउटा बाहिर निकाल्न लाखसम्म खर्च गर्नुपर्ने अवस्था छ, यति लामो समय सवारी बन्द गर्दा ऋणले थिचिएका हामीलाई सहुलियत र सहयोग हुनेगरी सरकारबाट कुनै प्याकेज आएन, एक/दुई जना सक्षम व्यवसायीले सवारी निकाल्न पनि सक्लान्, तर अधिकांश व्यवसायी अवस्था पीडामा छन्, कुनै न कुनै रूपमा सम्बाधेन नभई सवारी चलाउँदैनौं ।

यसैगरी महासंघले चालक तथा सहचालकको स्वास्थ्य सुरक्षाका लागि बिमाको ग्यारेन्टी गर्नु माग पनि गरेको छ । भोलि सार्वजनिक सवारी चले पनि रोग संक्रमण फैलाएको आरोप लाग्न सक्ने भन्दै महासंघले सवारी चल्नुअघि नै त्यस्तो जोखिमको मूल्याङ्कन गरेर योजना बनाउनुपर्ने माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.