नेकपा स्थायी समिति बैठक एक साताका लागि स्थगित
काठमाडौं, २६ असार : नेकपा स्थायी कमिटीको बैठक थप सात दिनसम्मका लागि स्थगित भएको छ ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीटरमार्फत् स्थायी कमिटीको बैठक स्थगित भएको जानकारी दिएका छन् । बाढी पहिरोको विपतको बेला पार्टी पंक्तिलाई राहत तथा उद्धारमा जुट्न निर्देशन दिँदै नेकपाले स्थायी कमिटी बैठक थप सात दिनसम्मका लागि स्थगित गरेको हो ।
उनले ट्वीटरमा लेखेका छन्, ‘देशभर भैरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोकलगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षतिसमेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टीपंक्तिलाई उद्दार एवं राहातमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टीको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित ।’
आन्तरिक विवादले यसअघि पनि स्थगित हुँदै आएको बैठक शुक्रबार बिहान ११ बजे बस्ने तय भएको थियो ।
पार्टी विभाजनको संघारमा पुगेपछि सहमति खोज्न भन्दै यसअघि पनि पटक–पटक स्थायी कमिटीको बैठक स्थगित गरिएको थियो । अध्यक्षद्वय ओली र प्रचण्डबीच सहमतिको लागि भनेर बैठक स्थगित गरिए पनि सहमतिको प्रयासले सार्थकता पाउन सकेको छैन ।
असार १० गते सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुबै पदबाट राजीनामा दिनुपर्ने माग भएपछि नेकपाको विवाद उत्कर्षमा पुगेको थियो ।
