नेपाल एयरलाइन्सका ३ पाइलटमा कोरोना संक्रमण

काठमाडौं, २२ असार : नेपाल एयरलाइन्सका ३ पाइलटमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । एयरलाइन्स स्रोतका अनुसार विभिन्न उद्धार उडानमा खटिएका तीन पाइलटमा कोरोना संक्रमण पुष्टि भएको हो ।
तीन पाइलटसहित नेपाल वायुसेवा निगमका १४ जना उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसमध्ये ३ जना पाइलट र अन्य ११ जना भने क्याविन क्रुका कर्मचारी रहेको नेपाल वायुसेवा निगम स्रोतले पुष्टि गरेको छ । यसरी पुष्टि भएका पाइलट तथा उडान कर्मचारी सबै होटल क्वारेन्टिनमा रहेको स्रोतको भनाइ छ ।
एयरलाइन्सले पाइलट लगायत उडान कर्मचारीलाई क्वारेन्टिनको लागि सोल्टी होटलमा राख्दै आएको छ ।
नेपालीलाई घर फर्काउने अभियानमा विभिन्न गन्तव्यमा खटिएका उडान कर्मचारीमा कोरोना देखिएको हो ।
उनीहरु केही महिनायता विदेशबाट नेपालीको उद्धार र स्वास्थ्य सामग्री ढुवानीमा जुटेका थिए । निगमले विदेशबाट नेपालीको उद्धारका लागि खटिएका पाइलटसहितका आफ्ना कर्मचारीहरुलाई होटल सोल्टीको क्वारेन्टाइनमा राख्दै आएको थियो ।
