कोरोना संक्रमणबाट एक शिशुको मृत्यु, कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ पुग्यो
काठमाडौं, १८ असार : कोरोना भाइरसको संक्रमणबाट थप एक संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा म्याग्दीको धौलागिरी नगरपालिका-४ स्थायी ठेगाना भएका ४९ दिनका एक शिशु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।
ती शिशुको असार १७ गते साँझ त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
असार ९ गते शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । शिशुलाई लामो समयदेखि आइसोलेसनमा राखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
यससँगै देशभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।
नेपालमा कोभिड-१९ संक्रमणबाट मृत्यु हुनेमा सिन्धुपाल्चोकका १, बाँकेमा २, गुल्मीका ३, बाराका १, ललितपुरका २, अर्घाखाँचीका २, दैलेखका २, बाजुराका १, दोलखा १, पाल्पाका १, सुर्खेतका १, कैलालीका ४, डोल्पाका १, स्याङ्जाका २, चितवनका १, विरगञ्जका १, पर्साका १, दाङका १, रौतहट १, अछाम १ र म्याग्दीमा १ जना गरी ३१ जनाको मृत्यु भएको छ ।
