पार्टी विभाजन सम्बन्धी अध्यादेश पुःन ल्याउने आशंकाले देशमा तरङ

`

काठमाडौं, १८ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजन गर्ने गरी अध्यादेश ल्याउने तयारी गरेका भन्दै नेपाली राजनीतिमा तरङ मच्चिएको छ ।

ओलीले राजनीतिक दल फुटाउन सहज हुने अध्यादेश फेरि ल्याउन खोजेको नेताहरुको आशंका छ ।

पार्टी विभाजन गरेरै भए पनि सरकार नछोड्ने रणनीति अपनाएका छन् । नेकपा उच्च स्रोतले जनाएअनुसार पार्टीबाट बहुमत गुमाएका उनले सरकार नछाड्न पार्टी विभाजन गर्ने गरी रणनीति अख्तियार गरेका हुन् ।

नेकपा स्रोतका अनुसार बिहीबार मन्त्रिपरिषदबाट संसद अधिवेशन अन्त्य गर्ने निर्णय गर्नुको पछाडि पनि उनको रणनीति प्रष्ट भएको छ । उनले यसअघि ल्याएको पार्टी विभाजनको अध्यादेश संसद अधिवेशनको अन्त्यसँगै पुनः ल्याउनेछन् भन्ने पछिल्लो घटनाक्रमले आशंकालाई बलपुग्ने देखिएको छ । यसअघि कोरोना संकटकै बीच अध्यादेश ल्याएका थिए ।

प्रधानमन्त्री ओलीले कोरोना संकटका बीच गत वैशाख ८ मा पार्टी फुटाउन सहज हुने गरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याएका थिए ।

पार्टी विभाजन गर्न सहज हुने खालको उक्त अध्यादेशमा दल विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एकमा ४० प्रतिशत भए पुग्ने व्यवस्था थियो । नेकपाभित्र चर्किरहेको विवादका बीच ल्याइएको अध्यादेश चौतर्फी विरोध पछि सरकारले बैशाख १२ गते फिर्ता भएको थियो ।

हालको कानुन अनुसार कुनैपनि दल विभाजन गर्न केन्द्रीय समिति र संसदीय दल दुबैमा ४० प्रतिशत संख्या आवश्यक हुन्छ । प्रधानमन्त्री ओलीको पक्षमा हाल संसदीय दलमा ४० प्रतिशत सदस्य रहेको तर केन्द्रीय समितिमा ४० प्रतिशत सदस्य पुग्ने अवस्था छैन ।

यस्तोमा प्रधानमन्त्री ओलीले संसदीय दलमा मात्र ४० प्रतिशत पुर्‍याउँदा पार्टी विभाजन गर्न मिल्ने गरी अध्यादेश जारी गर्न सक्छन् ।

यसैबीच सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।

अध्यादेश ल्याउने तयारीको आशंकालाई बल पुर्‍याएपछि प्रचण्ड शीतल निवास गएका हुन् । ‘तपाई पार्टीको एउटा पक्षमा लाग्नु हुँदैन है’ भन्ने आग्रह गर्न प्रचण्ड शीतल निवास गएको स्रोतले बताएको छ ।

यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन अन्त्य गरेकी छन् । उनले मन्त्रिपरिषद्को सिफारिस अनुसार बिहीबार अपराह्न ५ बजे बजेदेखि अधिवेशन अन्त्य गरेको सूचना संघीय संसदलाई जानकारी दिएकी हुन् ।

यसअघि बिहीबार नै बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो ।

कोरोना महामारीकै बीच संसद अधिवेशन वैशाख २६ गते सुरु भएको थियो ।

यसैगरी केही बेरअघि स्थगित भएको स्थायी कमिटी बैठक सुरू भएको छ । मन्त्रिपरिषद् बैठक, दुई अध्यक्षबीचको छलफल, राष्ट्रपति निवासमा छलफललगायका कारणले अवरुद्ध बनेको बैठक पुनः सुरु भएको हो ।

अहिले बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो घटनाक्रमका बारेमा जानकारी गराइरहेको बताइएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित छन् ।

नेकपा स्थायी कमिटीका बहुमत सदस्यले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवैै पदबाट राजीनामा दिनुपर्ने माग अघि सारेका छन् । तर प्रधानमन्त्री ओलीले भने बिहीबार मन्त्रिपरिषद् बैठक बोलाएर संसदको वर्षे अधिवेशन स्थगित गर्न राष्ट्रपतिलाई सिफारिस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.