सर्लाहीबाट नेपाल भित्रियो विनाशकारी किरा ‘सलह’

काठमाडौं, १३ असार : केही हप्ता अघि भारतको बंगालमा देखिएको विनाशकारी किरा ‘सलह’ प्रदेश २ को सर्लाही हुँदै नेपालमा समेत प्रवेश गरिसकेको छ ।

शनिबार अचानक सर्लाहीमा करिब एक लाखको संख्यामा देखिएको उक्त किरा सलह नै भएको प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले पुष्टी गरेका छन् ।

राज्यमन्त्री यादवले बाह्रखरीसँग भने, “सर्लाहीमा हजारौंको संख्यामा देखिएको नौलो किरा सलह नै हो । सर्लाहीमा सलह आएको विषयमा द्विविधा रहेन अब कति संख्यामा र कुन नाकाबाट नेपालमा प्रवेश गरेको हो भन्ने विषय मुख्य अनुसन्धानको कुरो हो ।”

सलह किरा नेपाल प्रवेश गरेको नाका र संख्या पत्ता लगाउन प्रादेशिक कृषि निर्देशनालयका निर्देशक रतनकुमार झाको नेतृत्वमा कृषि वैज्ञानिकहरुको टोली परिचालन गरिएको राज्यमन्त्री यादवले जानकारी दिए । उनका अनुसार उक्त टोली अहिले सर्लाहीको तेलबाली अनुसन्धान केन्द्रमा बसेर काम गरिरहेको छ ।

यसैगरी भारत हुँदै भित्रिएको बाली विनाशक कीरा सलह रौतहटमा पनि देखिएपछि किसान चिन्तित भएका छन् । लाखौंको झुन्डमा हिँड्ने र जुनसुकै बालिनालीलाई पनि विनाश गर्नसक्ने सलह कीरा आज बिहान रौतहटको छुट्टाछुट्टै दुई पलिकामा देखिएको छ ।

जिल्लाको उत्तरीभेग चन्द्रपुर र गुजरा नगरक्षेत्रमा सलह कीरा देखिएको हो । गुजरा नगरपालिका वडा ३ मा सलह कीराको ठुलो झुन्ड देखिएको स्थानीय समाजसेवी शिव पराजुलीले जानकारी दिए ।

कृषि ज्ञानकेन्द्र रौतहटका प्रमुख जितेन्द्र झाले चन्द्रपुर २ मा पनि सलह कीरा आएको बताएका छन् । ‘सलह कीरा शनिबार बिहान रौतहटमा पनि आएको छ । तर हालसम्म कुन स्थानीय तहमा आएको भन्ने यकिन भइसकेको छैन’ प्रमुख झाले बताए । यो किरा बारा, पर्सा र सर्लाहीको केही ठाउँमा पनि देखिएको छ ।

यसअघि नेपालमा यसवर्ष सलह प्रवेश गर्दैन भन्ने कृषि तथा पशुपक्षी विकास मन्त्रालयको निश्कर्ष गलत सावित भएको छ । मन्त्रालयले मरुभूमि सलहबारे अध्ययन गर्न गठन गरेको विशेष कार्यदलले यो वर्ष सलह किरा नआउने निचोडसहितको प्रतिवेदन दिएको थियो ।

मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाई नेतृत्वमा कार्यदल गठन भएको थियो । यो कार्यदलले नेपालमा यो वर्ष सलह किरा भित्रिने सम्भावना नरहेको उल्लेख गरेको छ । आगामी वर्षहरूमा भने सचेत हुनुपर्ने कार्यदलको सुझाव थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.