कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृत्यु हुनेको संख्या २३ पुग्यो
काठमाडौं, ७ असार : कोरोनाको संक्रमणबाट नेपालमा थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गुल्मी छत्रकोट गाउँपालिका-५ का ६९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
उनी प्यारालाइसिसको उपचार गराउन भारत गइ जेठ २५ गते नेपाल फर्किएर होम-क्वारेन्टिनमा रहेका थिए । उनको असार ५ गते निधन भएको थियो । सोही दिन उनको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । असार ६ गते सार्वजनिक गरिएको रिपोर्टका अनुसार उनलाई कोरोना संक्रमण भएको पाइएको थियो । सोही दिन शव व्यवस्थापन नेपाली सेनाले गरेको बताइएको छ ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ । जसमध्ये चार महिला रहेका छन् भने १९ जना पुरुष रहेका छन् । 
