थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९ हजार नाघ्यो
काठमाडौं, ७ असार : बितेको २४ घण्टामा नेपालमा थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले सो जानकारी दिएका हुन् । जसमध्ये ६४ जना महिला ३५७ जना पुरुष रहेका छन् । योसहित नेपालमा कोरोना संक्रमितको कूल संख्या ९ हजार २६ पुगेको छ । जसमा ८२० महिला र ८ हजार २०६ जना पुरुष रहेका छन् । हालसम्म ७५ जिल्लामा काेराेना देखिएकाे गाैतमले बताए ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै अर्घाखाँचीमा ७४ संक्रमित थपिएका छन् । यस्तै, सिराहाका ५२ जना, डडेलधुराका ४१, डोटी र कैलालीका २७/२७ जना, कपिलवस्तुका २५, बाग्लुङका २३, नवलपरासीका २२, प्युठानका २० तथा स्याङ्जा र दाङका १०/१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी, धनुषाका ८ जना, गुल्मीका ७, झापा र सल्यानका ६/६ जना, उदयपुर, सर्लाहीका ५/५ जना, पाल्पा, म्याग्दी, तनहुँ र रोल्पा ४/४ जना, बारा र बर्दियाका ३/३ जना, मोरङ, सुनसरी, महोत्तरी, सप्तरी, सुर्खेत, अछाम, बैतडी, बझाङ, रुपन्देही, नवलपुर र पर्वतका २/२ मा संक्रमण पुष्टि भएको छ । यस्तै, ललितपुरसहित नुवाकोट, रामेछाप, कास्की, मुस्ताङ, बाँके, दैलेख र कञ्चनपुरमा १/१ जना कोरोना संक्रमित थपिएका छन् ।
बितेको २४ घण्टामा ८ जना महिला १८६ जना पुरुष गरी जम्मा १९४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसहित कोरोना निको हुनेको संख्या १ हजार ७७२ जना रहेका छन् । जसमा १४९ महिला र १ हजार ६२३ पुरुष रहेका छन् ।
कोरोनाको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गुल्मी छत्रकोट गाउँपालिका-५ का ६९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
उनी प्यारालाइसिसको उपचार गराउन भारत गइ जेठ २५ गते नेपाल फर्किएर होम-क्वारेन्टिनमा रहेका थिए । उनको असार ५ गते निधन भएको थियो । सोही दिन उनको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । असार ६ गते सार्वजनिक गरिएको रिपोर्टका अनुसार उनलाई कोरोना संक्रमण भएको पाइएको थियो । सोही दिन शव व्यवस्थापन नेपाली सेनाले गरेको बताइएको छ ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ । जसमध्ये चार महिला रहेका छन् भने १९ जना पुरुष रहेका छन् ।
