जाजरकोटका ग्रामीण क्षेत्रका गाउँ सुनसान, पाटन भरिभराउ   

जाजरकोट, ६ असार : कोरोना भाइरसको त्राससँगै जाजरकोटका ग्रामीण क्षेत्रका अधिकांश पशुपालक कृषक पाटनमा गएका छन् ।

जेठ, असारदेखि साउनसम्म स्थानीय जङ्गल बन्द हुने भएपछि कृषक पशुचौपाय लिएर पाटनतिर लागेका हुन् । जिल्लाका नलगाड नगरपालिका, बारेकोट गाउँपालिकाका कृषक डोल्पाका पाटन र जुम्लाको सिमाना रहेका पाटनमा पुगेका छन् ।

यहाँका कृषक पाटन गएसँगै गाउँ सुनसान जस्तै भएको छ भने पाटन भरिभराउ भएको छ । पाटनमा पशु चौपायलाई नयाँ पलाएको घाँस खुवाउन सजिलो हुनुका साथै त्यहाँ पाइने जडीबुटीसमेत सङ्कलन गर्न पाइने भएपछि यस याममा कृषक पाटन जाने गरेछन् ।

बारेकोट गाउँपालिका–४ ठाकुर जी पाटनमा चरिचरण क्षेत्रमा घाँस खाँदै घोडा । तस्वीर : हेमन्त केसी

यहाँका सर्वसाधारण पशुचौपाय लिएर पाटन जान थालेको बारेकोट गाउँपालिका–५ पृथी शाहीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पाटनमा लगाएका आलु खन्ने कामदेखि नयाँ पालुवा पशुचौपायलाई खुवाउन सजिलो छ । त्यसैले गाउँका दाजुभाइ पशुचौपाय लिएर पाटन जान थालेका छन् ।” गाई, भैँसी, बाख्रा, भेँडा, गोडालगायत पशुचौपायलाई पाटनका औषधिजन्य घाँस खुवाउँदा रोग नलाग्ने कृषकको भनाइ छ ।

भैँसीले हिमालको दाप(घाँस) खाएर दूधसमेत बढी दिने भएकाले घ्यू बढी उत्पादन हुने र पाटनमा उत्पादन भएको घ्यू अत्यधिक बिक्री हुने गरेको बारेकोट गाउँपालिका–४ का धनिलाल बस्नेतले बताउनुभयो । तीन महिना गाउँमा पशु चौपाय नराख्ने स्थानीय जङ्गलमा घाँस बढ्ने मौका पाउने गर्दछ । यो समयमा बढेको घाँसले हिउँद यामसम्म पुग्ने कृषकको भनाइ छ ।

पाटनमा अर्गानिक आलु उत्पादन   

पशुचौपाय पालनसँगै यहाँका कृषकले पाटनमा अर्गानिक आलु उत्पादन कार्यलाई समेत जोड दिएका छन् । वैशाखमा पाटनमा गई लगाएका आलु असार, साउनमा निकालिने गरिन्छ । गाउँमा लगाएको आलुभन्दा पाटनमा लगाएको आलु राम्रो भएको नलगाड नगरपालिका–६ का जयबहादुर रावलले बताउनुभयो ।

बारेकोट गाउँपालिका–४ का चौथारी, गणेश, पुथा, राँगा, लाग्नालगायत दर्जन पाटनमा आलुखेती गरिन्छ । त्यस्तै नलगाड नगरपालिका–७ को थामा, ८ को मेघाचौर, वैइनेउरा, धुपागैरा, नौचारा, डोङ्खोला, मंसिरी, बुराउसे, फूलपारी, रामरालगायका ठाउँमा पशुपालनसँगै आलुखेती गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.