थपिए ५८६ जना कोरोना संक्रमित, कोरोना संक्रमितको संख्या ७१७७ पुग्यो
काठमाडौं, ३ असार : नेपालमा पछिल्लो २४ घण्टामा ५८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५८६ संक्रमित थपिएका हुन् ।
सोमबार एकैदिन ४५५ संक्रमित थपिएका थिए भने मंगलबार ३८० संक्रमित थपिएका थिए ।
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै महोत्तरीमा २०० जना संक्रमित थपिएका छन् । यस्तै, रौतहटका १२७ जना, प्युठानका ३८, बर्दियाका ३१, गुल्मी र धनुषाका २६/२६ जना, सल्यानका २५, नवपलुरका १७, कालीकोटका १४, अर्घाखाँचीका १२ र कपिलवस्तुका १० जनामा संक्रमण पुष्टि भएको छ ।
मोरङका ९ जना, दाङका ८, बारा, कञ्चनपुर र रुपन्देहीका ७/७ जना, सर्लाहीका ६, उदयपुरका ४, पर्वतका ३ जना, झापा, सुर्खेत र दैलेखका २÷२ जना तथा सिराहा, कैलाली र बाँकेका १/१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ९ जना पुरुष कोरोनामुक्त भएका छन् ।
उनका अनुसार हालसम्म १ हजार १ सय ६७ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमा महिला १ सय १२ र पुरुष १ हजार ५५ छन् ।
यसैगरी कोरोना संक्रमणबाट नेपालमा २० जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट थप एकको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको बैजनापुर–६ की ४६ वर्षीया एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मिर्गौलासम्बन्धी समस्याका कारण उनलाई ३० जेठमा नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर भर्ना गरिएको थियो । १ असारमा उनको स्वाब संकलन गरिएको थियो ।
थप रिपोर्ट नआउँदै त्यही दिन साँझ उनको मृत्यु भयो । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २ गते उनमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
