आजबाट मोटरसाइकलमा पनि जोर–विजोर लागू
काठमाडौं, १ असार : अब मोटरसाइकल र स्कुटरमा पनि जोर–विजोर प्रणाली लागू हुने भएको छ ।
सरकारको निर्णयमा साइकल र मोटरसाइकल चालक मात्र रहने गरी चलाउन दिने भनेपछि जोरबिजोर लागू नहुने हो कि भन्ने दुबिधा थियाे । तर, पुन: ट्राफिक प्रहरीलाई जोर–विजोर लागू गर्न भन्दै गृह मन्त्रालयबाट परिपत्र भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले भने, ‘हामीलाई स्पष्ट निर्देशन आइसकेको छ, अब मोटरसाइकल र स्कुटरमा पनि जोर–विजोर प्रणाली लागू हुन्छ ।’ दुई पांग्रे सवारीमा एक जना मात्रै हिँड्न मिल्ने नियम पनि यथावत नै रहेको उनले बताए ।
यसअघि सरकारले लकडाउनलाई खुकुलो बनाउँदै ३० जेठबाट जोर–विजोर प्रणाली लागू गर्ने सरकारले घोषणा गरेको थियो ।
मोटरसाईकलमा दुईजना चढ्न पाउने नियम गरिए पठाओ र टुटल जस्ता कम्पनीले व्यावसायिक सेवा सुचारु गर्ने र अन्य सार्वजिनक यातायातका सञ्चालकले विरोध जनाउने हुनाले सरकारले मोटरसाइकलमा चालकमात्र र जोर बिजोर प्रणाली लागु गरेको छ ।

सर्वसाधारणले मोटरसाइकलमा एकजना चढ्ने व्यवस्थाको विरोधमा सडकमा खटिएका ट्राफिक प्रहरीसंग भनाभन र सरकारसंग ब्यापक गुनासो गरेका छन् ।
