लालबन्दी-मरिण जोड्ने सडकको डिपिआर बनाउने सहमति

सर्लाही, १ असार : जिल्लाको लालबन्दी नगरपालिकाबाट छिमेकी जिल्ला सिन्धुलीको मरिण गाउँपालिका जोड्ने सडक निर्माणका लागि डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयार गरिने भएको छ ।

लालबन्दी नगरपालिका र मरिण गाउँपालिकाबीच शनिबार भएको छलफलमा नगरपालिकाको वडा नं १३ र १४ को चुरेक्षेत्र हुँदै गाउँपालिका–५ बडीमुहान, अम्बास जोड्ने सडक निमार्णका लागि डिपिआर तयार गर्ने सहमति भएको हो ।

नगरपालिकाका प्रमुख मानबहादुर खड्का र गाउँपालिका अध्यक्ष पानीराज बम्जनसहितको जनप्रतिनिधिबीच भएको छलफलले दीर्घकालीनरूपमा सडक निर्माणका लागि डिपिआर निर्माण गर्ने र तत्काल सञ्चालनका लागि सडकको स्तरोन्नति गर्ने सहमति भएको नगरपालिकाका उपप्रमुख शान्तिकुमारी लामाले जानकारी दिनुभयो ।

सडकको डिपिआर निर्माण र स्तरोन्नतिका लागि आगामी आर्थिक वर्ष २०७७/७८ मा दुवै स्थानीय निकायले बजेट विनियोजन गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष बम्जनले बताउनुभयो । “दुवै स्थानीय तहका जनप्रतिनिधिबीच छलफल भयो । तत्कालका लागि नगरपालिकाभित्र पर्ने सडक र गाउँपालिकाभित्र पर्ने सडकको स्तरोन्नति गर्ने र आगामी आवमा बजेट विनियोजित गर्ने सहमति भएको छ । दीर्घकालीनरूपमा सडक निर्माणका लागि डिपिआर तयार गर्ने सहमति भएको छ”, नगरपालिकाका प्रमुख खड्काले भन्नुभयो ।

दुवै स्थानीय निकायले आ–आफ्नो स्थानीय निकायभित्रका सडकको स्तरोन्नति गर्दा बाँकी थोरै क्षेत्रको मात्रै सडक जोड्ने काम बाँकी रहने र आर्थिक भार पनि कम पर्ने गाउँपालिकाका अध्यक्ष बम्जनले बताउनुभयो । सडकको डिपिआर तयार गर्नका लागि आगामी आव २०७७/७८ मा दुवै स्थानीय तहहरुले स्रोतले भएसम्म बजेट छुट्याउने सहमति भएको अध्यक्ष बम्जनको भनाइ छ । “यो सडक निर्माणमा स्थानीय तहहरुले मात्रै सकिँदैन । हामीले स्रोतले पुगेसम्म लगानी गर्छौँ ।

डिपिआरदेखि सडक निर्माणसम्मका लागि बजेट नपुगेको खण्डमा सङ्घ, प्रदेश सरकारसँग पनि बजेट माग गर्नुपर्छ ।” सङ्घ र प्रदेश सरकारबाट बजेट ल्याउन दुवै स्थानीय तहले समन्वय गर्ने सहमति भएको दुवै स्थानीय निकायका प्रमुखले बताउनुभयो ।

करिब ३५ किलोमिटर लम्बाइ रहेको सडक निर्माणपछि तराईसँग मरिण गाउँपालिकाको आवातजावतमा सहज हुनेछ । सिन्धुलीको मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकाको व्यापारिक केन्द्रका रूपमा रहेको लालबन्दी बजार उक्त सडक निर्माणपछि थप व्यस्त रहने हुँदा सोहीअनुसार व्यवस्थित बनाउने नगरले तयारीसमेत गरेको नगर उपप्रमुख लामाले बताउनुभयो ।

विद्यालयलाई सोलार प्यानल हस्तान्तरण

बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा १२ सय वाटको सोलार सेट र ४ थान व्याट्री विद्यालयमा जडान गरिएको छ ।

सर्लाहिको लालबन्दी १५ परवानीपुर, श्रीकालिन्जोरको श्री आधारभुत विद्यालयमा लालबन्दी ५ निवासी समाज सेवामा समर्पित नबराज पौडेलले आफ्नो जिल्लामा अवस्थित बिकट गाउँमा भएको विद्यालयमा बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा १२ सय वाटको सोलार सेट जडान गरिएको छ ।

लालबन्दी वडा नं १५ का अध्यक्ष गोरख बल, स्कुलका प्रधानाध्यापक नहिन्द्र भट्टराई, श्याम श्रेष्ठको समन्वय एवं नेकपा जिल्ला कमिटी सचिव कमल बुढाथोकी, कृष्ण भण्डारी लगायतका व्यक्तिहरुको पहलमा २५० जना भन्दा बढी विद्यार्थीलाई लाभान्वित हुनेगरी नगर प्रमुख मानबहादुर खडका, उप प्रमुख शान्ति लामा, नेकपा पार्टीको नेता लोचन धिताल, डिल्ली अधिकारी, सन्तोष गौतम लगायतका स्थानीय बासीको उपस्थितिमा सोलार प्यानल जडान गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.