शुक्रबारदेखि नै निजी सवारीसाधनमा जोर विजोर प्रणाली लागु हुने
काठमाडौं, २९ जेठ : नेपाल सरकारले घोषणा गरेको लकडाउनको नयाँ व्यवस्था अनुसार भोलिदेखि जोरविजोर प्रणाली लागू हुने भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले शुक्रबारदेखि नै जोर विजोर प्रणाली लागू हुने उल्लेख गरेको छ । भोलि शुक्रबारदेखि काठमाडौँ उपत्यका भित्र र अन्यत्र जिल्लाभित्र मात्रै निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइने भएको छ ।
उपत्यकाका ३ जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानी यो व्यवस्था लागू गरिने छ । एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाइने छैन । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालका अनुसार भोलिदेखि सञ्चालन हुने जोर विजोर प्रणालीमा निजी सवारी साधन मात्र चलाउन पाइने जानकारी दिए ।
यद्यपि सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले भने यो नियम असार १ बाट लागु हुने बताएका थिए । उनले ४ पांग्रे सवारी साधनमा चालकसहित ३ जना मानिस मात्रै र २ पांग्रे सवारी साधन (मोटरसाइकल, स्कुटर, मोपेड) मा चालक मात्रै चढेर चलाउन पाइने बताए । जोर विजोर प्रणालीमा जोर गतेका दिन जोर नम्बर प्लेट भएको सवारी साधन र विजोर गतेका दिन विजोर नम्बर प्लेट भएको सवारी साधन सञ्चालन गर्नु पर्ने महाशाखाले जनाएको छ ।
अत्यावश्यक सवारी साधन बाहेक निजी सवारी साधनहरू बेलुका ९:०० बजेदेखि विहान ५:०० बजेसम्म चलाउन भने रोक लगाइएको छ ।
यसैगरी कुनै पनि कालो प्लेटका सार्वजनिक भाडाका सवारी साधन बस, माइक्रो, हाइस, ट्याक्सी, ट्याम्पो चलाउन पाइने छैन । यसअघि पास लिएर सञ्चालन भएका निजी सवारी साधन पनि जोर विजोर प्रणाली अनुसार मात्रै चल्न पाउने कुरा महाशाखाले उल्लेख गरेको छ ।
महाशाखाका प्रमुख ढकालले चैत्र ११ गतेदेखि गरिएको लकडाउन पूर्णरूपमा पालना गरेकोमा काठमाडौं उपत्यका बासी र आमनागरिलाई धन्यवाद दिएका छन् ।

उनले भोलिदेखि लागु हुने नयाँ व्यवस्थालाई पनि अनुशासित भई पालना गर्न आग्रह गरेका छन् । अत्यावश्यक कामबाहेक जोर बिजोर प्रणालीलाई उल्लङ्घन गरेर सवारी साधन चलाउनेमाथि भने विभिन्न चेक प्वाइन्टमा ट्राफिक प्रहरीले चेकजाँच गरी नियमानुसार कडा कारवाही गर्ने महाशाखाका महाशाखाका प्रमुख ढकालले बताए ।
यसैगरी उपत्यका भित्रिने र बाहिरिने सवारी साधनले अनिवार्य पास लिएको हुनुपर्ने बताएका छन् ।
मोटरसाइकललाई जोर विजोर प्रणाली लागू नहुने, चालक मात्रै बस्न पाउने
बिहीबारदेखि नै लागू हुने गरी मोटरसाइकल पनि सञ्चालन गर्न दिने निर्णय भएको छ । यद्यपि, मोटरसाइकलमा चालक अर्थात् एकजना मात्रै बस्न पाइनेछ । तर मोटरसाइकललाई जोर बिजोर प्रणाली भने लागू नहुने सञ्चारमन्त्रीसमेत रहेका अर्थमन्त्री युवराज खतिवडाका प्रेस संयोजक यमन पौडेलले बताए ।
मोटरसाइकलहरु उपत्यकामा भए उपत्यकाभित्र र उपत्यका बाहिर भए सम्बन्धित जिल्लाभित्र मात्रै सञ्चालन गर्न पाइनेछ ।
