थप २७९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४३६४ पुग्यो
काठमाडौं, २८ चैत : नेपालमा आज बुधबार थप २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगैं कोरोना संक्रमितको संख्या कुल संख्या ४३६४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर २७९ कोरोना संक्रमित थपिएका जानकारी दिएका छन् । जसमध्ये २५७ जना पुरुष र २२ जना महिला रहेका छन् ।
यसैगरी नेपालमा कोरोनालाई जित्नेहरुको संख्या ६७४ पुगेको छ भने निको हुनेहरुमा ५९५ जना पुरुष र ७९ जना महिला रहेका छन् । प्रवक्ता गौतमका अनुसार पछिल्लो पटक ९० जना निको भएर घर फर्किएका छन् ।
विभिन्न अस्पतालमा ८८ पुरुष र दुई महिला पूर्णरुपमा निको भएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार कोशी अस्पतालबाट एक महिला र पाँच पुरुष, सशस्त्र प्रहरीको बलम्बु अस्पतालबाट एक महिला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १८ पुरुष, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एक पुरुष, कोभिड १९ अस्पताल जनकपुरबाट ३७ पुरुष, सप्तरीको महेन्द्र गेनाई आइसोलेसनबाट २० पुरुष, कोरोना अस्पताल दाङबाट सात पुरुष छन् ।
यस्तै नेपालमा हालसम्म कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको छ ।
