थपिए ३१४ जना कोरोना संक्रमित, संक्रमितको संख्या ३७६२ पुग्यो
काठमाडौं, २६ जेठ : सोमबार ३१४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७६२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा ३१४ जना संक्रमित थपिएका हुन् । संक्रमितमध्ये अधिकांश क्वारेन्टाइनमा बसेकाहरू छन् ।
सोमबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमित भेटिएकामध्ये २ सय ९४ जना पुरुष र २० जना महिला रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७६२ पुगेको छ । तीमध्ये १४ जनाले ज्यान गुमाएका छन् भने ४८८ जना उपचारपछि निको भएका छन् ।
पछिल्लो २४ घण्टामा २० पुरुष र १ महिला गरी २१ जना निको भएर घर फर्किएका छन् । यससँगै कुल निको हुनेको संख्या ४ सय ८८ पुगेको छ । जसमध्ये ४ सय १९ जना पुरुष र ६९ जना महिला रहेको प्रवक्ता गौतमले बताए ।
यसैबीच कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
प्रवक्ता गौतमले स्याङजा जिल्ला वालिङ नगरपालिका वडा नं. ३ का वर्ष ५८ का एक जना पुरुषको निधन भएको बताए । यससँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
