कोरोना संक्रमणबाट नेपालमा नवौं व्यक्तिको मृत्यु
काठमाडौं, २१ जेठ : कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा नवौं व्यक्तिको मृत्यु भएको छ । मृतक दोलखाका ७६ वर्षीय पुरुष हुन् ।
नेपालमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत दोलखाका पुरूषको उपचारको क्रममा बुधबार मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
दोलखा भिमेश्वर नगरपालिका-२ का ७६ वर्षीय वृद्धको महाराजगन्जस्थित टिचिङ अस्पतालको गणेशमान भवनको आइसियूमा उपचार भइरहेको थियो ।
उनलाई काठमाडौंको सिनामंगलको केएमसी अस्पतालबाट जेठ १४ गते राति टिचिङ ल्याइएको थियो। उनको न्यूरो सर्जरी समेत गरिएको थियो ।
संक्रमित वृद्धको लडेर टाउकोमा चोट लागेपछि उनलाई सुरूमा गौरीशंकर सामुदायिक अस्पताल भर्ना गरिएको थियो । तर जेठ ११ गते उनलाई अस्पतालले काठमाडौं रिफर गरिदिएको थियो ।
