स्वेच्छाचारी गिरफ्तारी बन्द गर्न आग्रह  

काठमाडौँ, १७ जेठ : राष्ट्रिय मानव अधिकार आयोगले सर्वोच्च अदालतबाट पटक-पटक भएका आदेश विपरीत स्वेच्छाचारीरुपमा व्यक्तिलाई पटक-पटक पक्राउ गर्ने कार्य तत्काल बन्द गरीे मानव अधिकारको सम्मान गर्न सरकारसँग आग्रह गरेको छ ।

आयोगका प्रवक्ता बेदप्रसाद भट्टराईले आज प्रेस विज्ञप्ति जारी गरी हलेसी तुवाचुङ नगरपालिका–२ खोटाङ बस्ने चक्रबहादुर खत्रीलाई स्वेच्छाचारीरुपमा पटक पटक पक्राउ गरिएको घटनाप्रति ध्यानाकर्षण जनाउँदै उक्त आग्रह गरिएको हो ।

नेपालको संवैधानिक एवं कानूनी व्यवस्था तथा सर्वोच्च अदालतबाट पटक पटक भएका आदेश विपरीत स्वेच्छाचारीरुपमा व्यक्तिलाई पटक पटक पक्राउ गर्ने कार्य तत्काल बन्द गरी व्यक्तिको मानव अधिकारको सम्मान र संरक्षण तथा कानूनी शासनको प्रत्याभूत गर्न आयोगले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

खत्रीको अवस्था सम्बन्धमा परिवारलाई जानकारीसमेत नदिई स्थिति अज्ञात पार्ने गरिएको, निजउपर अपमानजनक व्यवहार गरिएको तथा सर्वोच्च अदालतबाट पटक-पटक जारी भएका आदेशको बेवास्ता गरिएका सम्बन्धमा २४ घण्टाभित्र जवाफ पठाउन आयोगले गृहमन्त्रालयलाई पत्राचारसमेत गरेको छ ।

खत्रीलाई २०७६ वैशाख २ गते पहिलोपटक पक्राउ गरी जिल्ला कारागार खोटाङमा राखिएकामा सर्वोच्च अदालतबाट भएका आदेशविपरीत २०७६ चैत २८ गते, २०७७ वैशाख १३ गते, २०७७ वैशाख २८ गते, २०७७ जेठ २ गते र २०७७ जेठ १५ गते छैटौँपटक पक्राउ गरी हालको लकडाउनको अवस्थामा खोटाङ, उदयपुर, सोलुखुम्बु हुँदै २०७७ जेठ १६ गते सिरहा पु¥याइएको पाइएको आयोगले जनाएको छ ।

सरकार, स्थानीय प्रशासन र प्रहरीबाट योजनाबद्धरुपमा भएका यस किसिमका स्वेच्छाचारितापूर्ण गिरफ्तारीबाट नेपालको संविधानले प्रत्याभूत गरेका मौलिक एवं संवैधानिक हक र मुलुकी फौज्दारी अपराध संहिताले प्रत्याभूत गरेको कानूनी हक विपरीत कार्य भएको देखिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.