कोरोना संक्रमणबाट नेपालमा छैटौं व्यक्तिको मृत्यु

काठमाडौं, १६ जेठ : कोरोना भाइरसका कारण नेपालमा छैटौं व्यक्तिको मृत्यु भएको छ ।
अर्घाखाँचीका ३५ वर्षीय पुरुषको कपिलवस्तुस्थित सीमाक्षेत्रमा मृत्यु भएसँगै यो संख्या ६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । भैरहवाको प्रयोगशालमा स्वाब परीक्षण गर्दा बिहीबार उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
भारतको गुजरातबाट नेपाल आउँदै गर्दा कपिलवस्तुको कृष्णनगर सीमा नजिकै मृत्यु भएका ती पुरुषमा कोरोना भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबार दिएका छन् । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-९ का ३५ वर्षीय उनको बाटोमा नै ज्यान गएको थियो बसमा आएका उनले अत्यधिक वान्ता गरेका कारण बोल्न नसक्ने अवस्थामा थिए ।
भारतबाट दुईवटा बस रिर्जभ गरेर आइतवार उनीसहित ९१ जना नेपाल प्रवेश गरेका थिए । मृतक सहित उनीसँग सम्पर्कमा रहेका २ जनाको स्वाब परीक्षणका लागि भैरहवा पठाइएको छ ।
बिहीबार नै कोरोना भएको पुष्टि भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने शुक्रबार मात्रै औपचारिक रुपमा कोरोनाले मृत्यु भएको घोषणा गरेको छ ।
घर फर्किने क्रममा मृत्यु भएका युवकको शवलाई उनको आफन्तले सन्धिखर्कस्थित गच्चे भन्ने स्थानमा गाडेका थिए ।
