कपिलवस्तुमा क्वारेन्टाइनबाट ३० जना भागे

रुपन्देही, १३ जेठ : क्वारेन्टाइनमा बसेको दुई हप्तासम्म पनि कोरोना जाँच नभएको भन्दै कपिलवस्तुको क्वारेन्टाइनमा बसेका ३० जना व्यक्ति भागेका छन् ।
कपिलवस्तु नगरपालिका-४ मलपरवा स्थित सुन्दर प्राथमिक विद्यालयमा बसेका ३० जना सबै सोमबार राति साढे ९ बजे क्वारेन्टाइन छाडेर हिँडेका हुन् ।
क्वारेन्टाइनमा बसेका व्यक्तिहरु कोरोना जाँच नगरी आ–आफ्नो घर गएपछि स्थानीय त्रसित भएका छन् । क्वारेन्टाइनमा बसेका व्यक्तिहरु भारतको मुम्बईलगायतका शहरबाट फर्केका हुन्
‘दुई हप्तासम्म बस्दा पनि कोरोनाको जांच नभएपछि आक्रोश पोख्दै क्वारेन्टाइन छाडेर गएका हुन् । कोरोना संक्रमणको सम्भावित क्षेत्रबाट आएका व्यक्ति क्वारेन्टाइनमा कम्तीमा १४ दिन बस्नुपर्ने सरकारी नियम छ। तर किटको अभावमा दुई हप्ता पूरा हुँदासम्म कोरोना जाँच नहुँदा असन्तुष्टी बढेको छ । क्वारेन्टाइनमा बसेका सबैजना एकैपटक निस्केर जाँदा उनीहरुलाई कसैले नरोकेको उनले बताए ।
कपिलवस्तु प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीप शमशेर जबराले क्वारेन्टाइनमा बसेका व्यक्ति भागेको भन्ने जानकारी आएको र आफूहरु के भएको रहेछ बुझ्ने क्रममा रहेको बताए । कपिलवस्तुमा यसअघि पनि दुई स्थानका क्वारेन्टाइनबाट ४५ जना भागेका थिए ।
भागेका सबै बिहान फर्काइए
सोमबार राति साढे ९ बजे भागेका ४२ जनालाई आज बिहान ५ बजे फर्काएर ल्याई क्वारेन्टाइनै राखिएको छ ।
उनीहरुको रिपोर्ट आएपछि नेगेटिभ रिपोर्ट भएकालाई मात्रै घर जान दिइने छ । उनीहरुलाई दुई दिनपछि घरघरबाट फर्काएर पुनः क्वारेन्टाइनमा राखिएको थियो ।

क्वारेन्टाइनहरुमा मापदण्ड अनुसारका सुविधा नभएका र समयमा चेकजाँच नभएको भन्दै जनस्तरबाट समेत असन्तुष्टि बढ्न थालेको छ ।
कपिलवस्तुमा झण्डै सात हजार जना क्वारेन्टाइनमा रहेका छन् ।
