नौ लाख अवैध रकमसहित एक भारतीय नागरिक पक्राउ 

भारतबाट लुकिछीपि अवैध तरिकाले रकम ल्यााउँदै गरेको अवस्थामा सप्तरीको हनुमाननगर कङकालिनी नगरपालिका–१४ कोशी बलारबाट पक्राउ परेका भारतीय नागरिक फुलकुमार मेहतालाई शनिबार जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गर्दै प्रहरी । तस्वीर: अरुणकुमार यादव

राजविराज, १० जेठ : सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका-१४ कोशी बलारबाट अवैध रकमसहित आज साँझ एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारतको सुपौल जिल्ला बथनाह गाउँ पञ्चायत वडा नं १७ बस्ने २८ वर्षीय फूलकुमार मेहता रहेको प्रहरी नायब उपरिक्षक तिलक भारतीले जानकारी दिनुभयो ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस रोगका सम्बन्धमा नेपाल सरकारले जारी गरेको बन्दाबन्दी उल्लङ्घन गर्दै भारतबाट नेपालतर्फ लुकीछिपी आउँदै गरेका उनलाई नेपाली रुपैयाँसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भारतीले बताउनुभयो ।

उनलाई शङ्कास्पद अवस्थामा हिँडिरहेको अवस्थामा फेला पारी हातमा झुण्ड्याउने नाइलनको झोला जाँच गर्दा दुई किलो चिनीभित्र लुकाइ राखिएको नेपाली रु नौ लाख फेला पारेको प्रहरीले जनाएको छ । प्रहरीचौकी रामपुर मल्हनीयाबाट खटिएको प्रहरी सहायक निरीक्षक श्रीप्रसाद ठाकुर नेतृत्वको प्रहरी गस्ती टोलीले उनलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भारतीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.