भारतीय क्वारेन्टाइनमा बसेका स्याङ्जाका युवाको मृत्यु

रुपन्देही, १० जेठ : भारतीय बजार नौतनवाको क्वारेन्टिनमा रहेका एक नेपालीको मृत्यु भएको छ ।

रोजगारीका लागि भारत गएका स्याङ्जाका हरिनाश गाउँपालिका-२ का ३४ वर्षीय देवबहादुर थापाको नौतनवास्थित राजीव गान्धी कलेजको क्वारेन्टिनमा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिनुभयो ।

यही जेठ ५ गतेदेखि क्वारेन्टिनमा रहनुभएका थापालाई हर्नियाको समस्या रहेको तथा शरीरका विभिन्न भाग सुन्निएकाले शुक्रबार जिल्ला सदरमुकाम महाराजगञ्ज अस्पतालमा उपचारपछि पुनः क्वारेन्टिनमा ल्याइएको नेपाल भारत सीमा स्थित बेलहिया प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक ईश्वरी अधिकारीले बताउनुभयो । शव परीक्षणका लागि महाराजगञ्ज अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

उहाँका अनुसार थापा अलिगढबाट आफ्ना भिनाजुसँगै पैदल हिँडेर स्वदेश फर्किनेक्रममा सीमासम्म आइपुग्नुभएको थियो ।

हिँडेरै स्याङ्जा जाने प्रयासमा भारत अलिगढबाट रुपन्देहीको नाका बेलहिया आएका उनलाई नेपाल प्रवेश नदिएपछि नौतनवाको क्वारेन्टाइनमा राखिएको थियो ।

हाल सीमानाका सुनौली नजिकैको नौतनवाको सो क्वारेन्टाइनमा १ सय ३९ जना नेपाली रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.