पाकिस्तानको कराँचीमा यात्रुवाहक विमान दुर्घटना

कराँची, ९ जेठ : पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्सको ए३१०–३०० एयरबस शुक्रबार कराँचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त बनेको छ ।
पाकिस्तानको कराँची नजिकै चालक दलका सदस्यसहित १०७ जना यात्रु बोकेको विमान शुक्रबार दुर्घटना भएको छ । घटनास्थलमा धुवाँ उडेको देखिएको थियो । दुर्घटनामा मृत्यु हुने र घाइते हुनेको विवरण आएको छैन ।
पाकिस्तानी सरकारी स्वामित्व रहेको पाकिस्तानी अन्तर्राष्ट्रिय विमान सेवाको विमान कराँचीको दक्षिणी नाकामा दुर्घटनाग्रस्त भएको हो ।
देशको नागरिक उड्डयन प्राधिकरणका अब्दुल सत्तार कोखरले दिएको जानकारी अनुसार अहिलेसम्म मानवीय क्षतिको पुष्टि गर्न सकिने अवस्था छैन ।
घटनास्लथमा उद्धारको कार्य भइरहेकाले पुर्ण विवरण आउन बाँकी नै रहेको उहाँले बताउनुभयो ।
विमान जिन्ना अन्तर्राष्ट्रिय विमानस्थल पुग्नु अगाडि नै दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
विमान खसेका ठाउँमा बाक्लो बस्ती छ । मोडेल कोलनीका नाममा रहेको सो बस्तीमा विषेश गरेर गरिव समुदायका मानिसहरु बस्ने गर्दथ्ये ।
प्रत्यक्षदर्शीहरुका अनुसार विमान खस्नु अघि तीन पटक घुमेको थियो । विमानले अवतरण गर्न खोजिरहेको तर नसकेको जस्तो देखिएको उनीहरुको भनाई छ ।
घटनास्थलमा प्रहरी, सैनिक, स्वयंसेवकलगायतलाई परिचालन गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।
स्थानीय टेलिभिजनहरुले घटनास्थलमा आगो बलिरहेको, स्वयंसेवक तथा सुरक्षाकर्मीहरुले आगो निभाउन खोजेको र उद्धार गर्न लागिरहेको दृश्य प्रसारण गरिरहेका छन् ।
पाकिस्तानमा कोरोना भाइरस रोकथामका लागि लगाइएको लकडाउन खुला गरेर उडान सुरु हुन थालेका थिए । पाकिस्तानले आन्तरिक हवाई सेवा गत शनिवार मे १६ अर्थात यहि जेठ ३ गतेदेखि सुचारु गरेको थियो ।
