बागबजारका संक्रमित व्यक्ति मुद्रण व्यवसायी
टेकनाथ न्यौपाने । काठमाडौं, ६ जेठ : काठमाडौं उपत्यकामा थपिएका पाँच जना कोरोना संक्रमितमध्ये एक जना संक्रमित छापाखानाका सञ्चालक रहेको खुलेको छ ।
मंगलबार काठमाडौंमा तीन जना संक्रमित थपिएका थिए । जसमध्ये एक जना काठमाडौं महानगरपालिका-२८ बागबजारको बुद्ध विहार पछाडि बस्ने खुलेको हो ।
उनी बागबजारको होटल हार्दिक अगाडी रहेको मुद्रण व्यवसाय सञ्चालन गरेर बस्ने व्यक्ति रहेको खुलेको छ ।
धादिङको थाक्रे गाउँपालिका–८ स्थित जुँगेखोला स्थायी घर भएका ४१ वर्षीय कोरोना सङ्क्रमित पुरुष काठमाडौँको बागबजारमा व्यवसाय गरेर बस्ने गरेका थिए । उनी लकडाउन सुरु हुनु अगाडी गत चैत ११ गते थाक्रे गाउँपालिका-८ जुँगेखोला स्थित घर गएका थिए । सरकारले अत्यावश्यक ऐन अन्तर्गत रहेको मुद्रण व्यवसाय सञ्चालन गर्न दिएपछि उनी यही बैशाख २८ गते धादिङबाट मोटसाइकलमा काठमाडौँ फर्किएका थिए ।
बागबजारको बुद्ध विहार पछाडि बस्ने गरेको घरका घरभेटीले कोरोना जाँचको प्रमाण खोजेपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा गएर परीक्षण गरेका थिए । उनी जेठ २ गते परीक्षण गर्न गएका थिए । जेठ ५ गते नतिजा आउँदा उनमा पोजिटिभ देखिएको हो । परीक्षणको नतिजामा कोरोना संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका छन् । उनलाई संक्रमण देखिएपछि उनका नजिकका सम्पर्कमा आएका व्यक्तिहरुको पनि कोरोना परीक्षणका लागि अस्पताल गएका छन् ।
उनी एक हप्ता अगाडी धादिङबाट आएको भन्ने खुलेको छ, ‘काठमाडौं महानगर-२८ का वडाध्यक्ष भाइराम खड्गीले भने,’अब त्यो ठाउँ सिल गरिसकेकाछौं ।’ अहिले उनको अवस्था सामान्य रहेको र सशस्त्र प्रहरीको अस्पतालको आइसोलसनमा राखिएको उनले बताए ।
यसैगरी सङ्क्रमित व्यक्ति लामो समयसम्म थाक्रे गाउँपालिका–८ स्थित जुँगेखोलामा बसेर काठमाडौँ गएकाले उनको सम्पर्कमा रहेका व्यक्तिलाई खोजतलास गर्नका लागि अहिले थाक्रे–८ को जुँगेखोला क्षेत्रलाई धादिङ जिल्ला सुरक्षा समितिले सिल गरेको छ ।
संक्रमितको परिवारमा रहेका ६० वर्षीया आमा, श्रीमती, भाइ र दुई छोराछोरी सहित १० जनाको परिवार रहेको छ । परिवारका सदस्यहरुको तत्काल पीसीआर जाँच गरिदैछ ।
योसँगै धादिङमा कोरोना संक्रमितको संख्या ३ पुगेको छ । एक जना निको भएर घर भइसके भने दुईको उपचार भइरहेको छ ।
