थप ५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २५० पुग्यो

काठमाडौं, १ जेठ : थप ५ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या २५० पुगेको छ ।

सर्लाहीमा १ जना, धनुषामा र महोत्तरीमा २/२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले बिहान पौने ८ बजे सार्वजनिक गरेको अध्यावधिक विवरणअनुसार सर्लाहीको धनकौल गाउँपालिकाका ४५ वर्षीय पुरुष, धनुषाको जनकपुर उपमहानगरपालिका र मिथिला नगरपालिका निवासी क्रमशः ४० वर्षीय पुरुष र २० वर्षीया महिलामा कोरोना संक्रमण देखिएको छ । यस्तै महोत्तरीको जलेश्वर नगरपालिका र बलवा नगरपालिका निवासी १६ र ३५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

उनीहरु सबैको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले जानकारी दिए ।

आज बिहान मात्रै कपिलवस्तु र काठमाडौंका दुई जनामा पनि संक्रमण भएको पुष्टि भएको थियो ।

अहिलेसम्म प्रदेश नम्बर २ मा सर्वाधिक १०३ जना कोरोना संक्रमित पुगेका छन् ।

प्रदेश ५ मा ९४ जना, प्रदेश १ मा ३५ जना, बागमतीमा ११ जना, गण्डकीमा २ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित फेला परेका छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २५० पुगेको छ भने कोरोना संक्रमित मध्ये ३५ जना उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.