चिनियाँविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाइने 

काठमाडौँ, २७ वैशाख: सिंहदरबार अगाडि लकडाउन र निषेधित क्षेत्र तोड्दै प्रहरीमाथि नै हातपात गर्ने चार चिनियाँलाई अभद्र व्यवहारमा मुद्दा चलाइने भएको छ ।

महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले उनीहरुलाई आइतबार अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान गरिने जानकारी दिनुभयो । शुक्रबार अपराह्न बन्दाबन्दीका समयमा निषेधित क्षेत्रको उल्लङ्घन गरी प्रहरीमाथि आक्रमण गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

परिसरका अनुसार गाभिड र लियो लाओलाई महानगरीय प्रहरी वृत्त दरबारमार्ग र ज्याङ जङ तथा गेगा न्यानीलाई सिंहदरबारस्थित वृत्तमा राखिएको छ । पक्राउ परेका अन्यलाई भने छाडिएको छ । उनीहरु घर जान पाउनुपर्ने माग राख्दै ‘वी वान्ट टु गो ब्याक होम’ लेखेको प्लेकार्ड बोकेर निषेधित क्षेत्र तोडी सिंहदरबारतर्फ आएका थिए । उनीहरूले प्रहरीको लाठी खोसेर प्रहरीलाई नै हिर्काएका थिए । त्यसको जवाफमा प्रहरीले पनि उनीहरूमाथि लाठी हानेको थियो ।

सोही क्रममा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतसहित पाँच प्रहरी र छ चिनियाँ घाइते भएका थिए ।

पर्यटक राहदानीमा घुम्न आएका ती चिनियाँ ठमेलबाट रानीपोखरी, रत्नपार्क हुँदै सिंहदरबारतर्फको निषेधित क्षेत्रतर्फ आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.