नेकपाको स्थायी कमिटीको बैठक स्थगित
काठमाडौं, २४ वैशाख: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक स्थगित भएको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको भोलिदेखि बस्ने भनिएको स्थायी समिति बैठक अनिश्चित बनेको छ । बैठकका लागि एजेन्डा तय गर्न बोलाइएको सचिवालय बैठकमा नेताहरु बीच सहमति नजुटेपछि बैठक अनिश्चित बनेको हो ।
वैशाख २० गते बसेको नेकपा सचिवालय बैठकले पार्टीको स्थायी समिति बैठक बोलाउने निर्णय गरेको थियो । सोही अनुसार वैशाख २५ गते बिहीबार ११ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बैठक बस्ने समय तय गरिएको थियो ।
सोही बैठकका लागि आज सचिवालयले एजेन्डा तय गर्ने कार्यतालिका रहेको थियो ।
नेकपाका महासचिव बिष्णु पौडेलले भोलिका लागि बोलाइएको बैठक केही समयपछि सार्न दुई अध्यक्ष सहमत भएको बताए । महासचिव पौडेलले भने, ‘भोलिको बैठक स्थगित भएको छ । अर्को बैठकको मिति पछि तय हुन्छ ।’
