विश्वभर कोरोना संक्रमित ३५ लाख नाघे, दुई लाख ४८ हजार बढीको मृत्यु
काठमाडौं, २२ वैशाख : विश्वभर कोरोनाबाट संक्रमित हुने मानिसको संख्या ३५ लाख नाघेको छ ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म कोरोना भाइरसका ३५ लाख ६ हजार ९२४ जना संक्रमित फेला परेका छन् ।
चीनको वुहानबाट निस्किएको कोरोना भाइरसको कारण विश्वभर मृत्यु हुनेको संख्या पनि दुई लाख ४८ हजार नाघेको छ । अहिलेसम्म दुई लाख ४८ हजार तीन सय चार जनाको मृत्यु भइसकेको छ ।
अमेरिकामा अहिलेसम्म ११ लाख ५८ हजारभन्दा बढी संक्रमित फेला परेका छन् । त्यस्तै स्पेनमा अहिलेसम्म दुई लाख १७ हजार र इटालीमा दुई लाख १० हजारभन्दा बढी संक्रमित फेला परिसकेका छन् ।
अहिलेसम्म विश्वभर ११ लाख २५ हजार भन्दा धेरै संक्रमित निको भएर घर फर्किसकेका छन् । अमेरिकामा एक लाख ८० हजार मानिस निको भएर घर फर्किएका छन् भने जर्मनीमा एक लाख ३० हजार संक्रमित निको भएका छन् । स्पेनमा एक लाख १८ हजार मानिस निको भएर घर फर्किएका छन् । इटालीमा ८१ हजारभन्दा धेरै निको भएका छन् ।
यसैगरी अहिलेसम्म नेपालमा कोरोना संक्रमित ७५ जना पुगेका छन् भने उपचारपछि १६ जना निको भएर घर फर्किएका छन् ।
