नेपालगञ्जमा थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७५ पुग्यो

काठमाडौं, २१ वैशाख: बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।

यसअघि आइतबार नै मन्त्रालयले ९ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको थियो ।

नेपालगञ्जका १६, २१ र ३४ वर्षीय पुरुष र ४०, ५५, ६० वर्षीया महिलामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

आइतबार नेपालगन्जमा एकैदिन १५ जना व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ ।

सुरुमा ९ जना व्यक्तिमा संक्रमण पुष्टि भएको थियो । थप ६ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आजै वीरगन्जका एकजना पुरुषमा पनि कोरोना संक्रमण देखिएको थियो । आइतबार मात्र १६ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा संक्रमितको संख्या ७५ पुगेको छ भने संक्रमित मध्ये अहिलेसम्म १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

थप ६ मा कोरोनाः लक्षण थिएन

भेरी अस्पतालको आरटीपिसिआर यन्त्रमा परीक्षणको क्रममा साँझ थप ६ जनामा कोरोना पोजेटिभ फेला परेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि आज नै अपराह्न ९ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । भेरीको कोरोना प्रयोगशालामा निरन्तर परीक्षण भइरहेको छ ।

शनिबार सङ्कलित ९० र आज सङ्कलित चार गरी ९४ स्वाबको परीक्षण भइरहेको श्रेष्ठले बताउनुभयो । ‘अहिलेसम्म कति परीक्षण भयो भन्ने ठ्याक्कै यकिन भएन, अहिलेसम्म थप ६ जनामा पोजेटिभ भेटिएको छ’, उहाँले भन्नुभयो,‘ निरन्तर परीक्षण भइरहेको छ, मन्त्रालयले पुष्टि गर्दै जाने छ । ’

उहाँका अनुसार अहिले भेटिएका नयाँ सङ्क्रमित पनि नेपालगञ्ज–८ स्थित जोल्हनपूर्वा आसपासकै भएको अनुमान छ ।

यससँगै नेपालगञ्जमा एकै दिन कोरोना पोजेटिभको सङ्ख्या १५ पुगेको छ । यसअघि एक जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

संसर्गबाट कोरोना सङ्क्रमण

नेपालगञ्जमा आज फेला परेका नयाँ कोरोना सङ्क्रमित पहिले फेला परेका व्यक्तिको संसर्गबाट सङ्क्रमित भएको पाइएको छ । नयाँ सङ्क्रमित सबै पहिलो पटक सङ्क्रमण देखिएका नेपालगञ्ज–८ डिएसपी रोडका ६० वर्षीयको सम्पर्कमा आएका जोल्हनपूर्वास्थित मदरसा वरिपरिका बासिन्दा भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

पहिलो सङ्क्रमित व्यक्तिले जोल्हनपूर्वामा रहेको मदरसामा बालबालिकालाई पढाउनेक्रममा सम्पर्क भएको हुन सक्ने अनुमान छ । फेला परेका सङ्क्रमित सातदेखि ५८ वर्ष उमेरका छन् । उनीहरु कसैमा पनि कोरोनाको लक्षण नदेखिए पनि कोरोना सङ्क्रमण भएको थियो ।

फोकल पर्सन श्रेष्ठका अनुसार पहिलो सङ्क्रमितको सम्पर्कमा आएका ९० जनाको शनिबार स्वाब सङ्कलन गरिएकामा ३० को नमूना परीक्षण गर्दा १५ जनामा कोरोना पोजेटिभ देखिएको हो । उनीहरुलाई उपचारका लागि खजुरास्थित आइसोलेशन अस्पतालमा पठाइएको छ । नब्बेमध्ये अझै ५४ जनाको रिपोर्ट आउन बाँकी रहेकाले सङ्क्रमितको सङ्ख्या थप हुन सक्ने बताइएको छ ।

कोरोनाको कुनै पनि लक्षण नभएका व्यक्तिमा कोरोना पोजेटिभ देखिएकाले थप सतर्कता अपनाउनुपर्ने अवस्था आएको भेरी अस्पताल नेपालगञ्जका प्रमुख डा प्रकाश थापाले बताउनुभयो ।

उहाँले कोरोना भाइरस जोसुकैमा पनि सङ्क्रमण हुने भएकाले घरबाट बाहिर निस्कन नहुनेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.