ताप्लेजुङ सदरमुकाममा आगलागी, भट्टराईद्वारा दुःख व्यक्त

ताप्लेजुङ, २० वैशाख: ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा शुक्रबार राति भएको आगलागीले सात घर जलेर नष्ट भएका छन् । फुङलिङ बजारको पुरानो बैंक लाइनमा आगलागी भएको हो ।

राति करिब साढे १० बजे भएको आगलागीले खेम केसी, खड्क थापालगायत स्थानीयवासीको घर जलेर नष्ट भएका छन् । आगो नियन्त्रण गर्ने क्रममा एक घर पूर्णरूपमा र अर्को एक घर आंशिकरूपमा भत्काइएका थिए ।

त्यहाँस्थित भण्डारी खाजाघर आसपासबाट एक्कासी आगो सल्किएको स्थानीयवासीले बताएका छन् । यद्यपि कसको घरबाट कसरी आगो सल्किएको हो भन्ने यकिन भएको छैन । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित स्थानीयवासीको सक्रियतामा दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट मानवीय क्षति भने भएन । आगलागी नष्ट भएका सात घरमा ११ वटा साना होटल तथा पसल रहेको प्रारम्भिक विवरणमा देखिएको प्रहरीले जनाएको छ ।

यसैबीच आगलागी पीडितलाई तत्कालका लागि खाने–बस्नेलगायत व्यवस्थापनका साथै राहत प्रदान गर्ने विषयमा जिल्ला प्रशासन कार्यालयको अगुवाइमा आज बिहान सर्वपक्षीय बैठक बोलाइएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनुभएको छ । बैठकसँगै उनीहरुलाई तत्कालका लागि राहत उपलब्ध गराइने उहाँले बताउनुभयो ।

आगलागी घटनाप्रति पर्यटनमन्त्री भट्टराईद्वारा दुःख व्यक्त

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा गएराति भएको आगलागीको घटनाप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले आज यहाँ एक विज्ञप्ति जारी गर्दै फुङ्लिङ बजारको माथिल्लो क्षेत्र ट्याक्सी काउन्टर लाइनमा भएको आगलागीबाट भएको भौतिक संरचना तथा धनमालको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितलाई तत्काल उद्धार र राहतको प्रबन्ध मिलाउन स्थानीय प्रशासन र स्थानीय तहलाई अनुरोध समेत गर्नुभएको छ ।

मन्त्री भट्टराईले सरकारको तर्फबाट प्रदान गरिने पुनःस्थापनाका लागि आफ्नो तर्फबाट आवश्यक पहल गर्ने पनि जानकारी गराउनुभएको छ ।

उहाँले आगलागीबाट धनमाल गुमाएका जिल्लावासी दिदीबहिनी, दाजुभाइप्रति सहानुभूति प्रकट गर्दै उक्त आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जनप्रतिनिधि र स्थानीय समुदायबाट भएको कार्यको प्रशंसासमेत गर्नुभएको छ ।

ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित पुरानो बैंक लाइनमा भएको आगलागी । शुक्रबार राति करिब १०ः३० बजे भएको आगलागीका कारण ८ घर जलेका छन । आगलागीबाट मानवीय क्षति भने भएको छैन । तस्वीर: सन्तोष पुर्कुटी

फुङ्लिङको माथिल्लो क्षेत्र ट्याक्सी काउन्टर लाइनमा भएको आगलागीबाट सातवटा निजी घर पूर्णरुपमा क्षति हुनाका साथै सोही स्थानमा रहेका अन्य थुप्रै व्यावसायिक पसल, सङ्घसंस्थाका कार्यालयमा ठूलो मात्रामा भौतिक संरचना तथा धनमालको क्षति पुगेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.