भारतबाट आएका रौतहटका थप दुई जनामा देखियो कोरोना, संक्रमितको संख्या ५४ पुग्यो

रौतहट, १६ वैशाख: रौतहटमा दुई जना व्यक्तिको काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

वृन्दावन नगरपालिका-९ भुसहा र देवाही गोनाही नगरपालिका-१ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले बताउनु भयो ।

लकडाउनपछि भारतबाट नेपाल प्रवेश गरेका दुवैको स्वाबको नमूना परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो । त्यहाँ नतिजा नेगेटभ देखाइए पनि आशंका लागेर पुनः परीक्षणका लागि काठमाडौँ पठाउँदा उनीहरुको नतिजा पाजेटिभ देखाएको साहले जानकारी दिए ।

अस्पतालका अनुसार देवाही गोनाही नगरपालिका वडा–१ का ३५ वर्षीय पुरुष कोलकाताबाट लकडाउनपछि नेपाल आएका थिए । जनकपुरमा पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर जान दिइएको थियो । अहिले काठमाडौँमा गरिएको पीसीआर परीक्षणमा नतिजा पोजेटिभ आएपछि उनको सम्पर्कमा आएकाहरुको खोजी सुरु गरिएको छ ।

त्यस्तै, वृन्दाबन नगरपालिका वडा नम्बर-९ का २४ वर्षीय पुरुषमा पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । उनी पनि लकडाउनपछि भारतबाट नेपाल प्रवेश गरेका थिए । उनलाई भने चन्द्रपुरस्थित क्वारेन्टाइनमा राखिएको थियो ।

यसअघि पनि प्रादेशिक अस्पताल जनकपुरमा पीसीआर परीक्षण गर्दा गलत नतिजा देखाएको थियो । सर्लाहीका १४ वर्षीय एक किशोरमा पीसिआर चेकजाँच गर्ने क्रममा मेसिनले गलत रिपोर्ट दिएको थियो । उक्त घटनापछि प्रादेशिक अस्पताल जनकपुरमा गरिँदै आएको स्वाब परीक्षणको कार्य स्थगित गरिएको थियो ।

यसअघि रौतहटको इशनाथ नगरपालिकामा भेटिएका एक संक्रमित उपचारपछि निको भएर वीरगञ्जबाट घर फर्किसकेका छन् ।

दुबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ । उनीहरूलाई वीरगन्ज स्थित नारायणी अस्पताल पठाउनेबारे छलफल चलिरहेको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ भने अहिलेसम्म १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.