पूर्वसचिव उपाध्यायविरुद्ध साइबर क्राइमको मुद्दा

काठमाडौं, १४ वैशाख: पूर्वसचिव भीम उपाध्यायमाथि साइबर क्राइमको मुद्दा दर्ता भएको छ ।

प्रहरीले सरकारी वकिलको कार्यालय मार्फत जिल्ला अदालत, काठमाडौंमा विद्युतीय कारोबार ऐन २०६३ अनुसार मुद्दा दायर गरेको हो ।

उनलाई ५ वर्षसम्म कैद सजाय माग गर्दै मुद्दा दायर भएको अदालतका श्रेश्तेदार आनन्द श्रेष्ठले जानकारी दिए ।

उपाध्यायले सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको चरित्र हत्या गर्ने गरी गैरकानुनी विषय लेखेको प्रहरीको आरोप छ ।

सामाजिक सञ्जालमा धार्मिक आस्थामाथि प्रहार गर्ने र सामाजिक सद्भाव खलबलिने अभिव्यक्ति दिएको भन्दै पूर्वसचिव भीम उपाध्यायविरूद्ध मुद्दा दायर भएको छ ।

आइतबार सरकारी वकिल कार्यालयले उनीविरूद्ध विद्युतीय अपराधअन्तर्गतको मुद्दा दायर गरेको हो ।

पूर्वसचिव उपाध्यायले मुस्लिम समुदायका जमातीबारे भ्रम फैलाएको भन्दै नजिम बुल्लाह अन्सारीले केही दिनअघि गृह मन्त्रालयमा दिएको उजुरी माथि अनुसन्धान गरी मुद्दा चलाइएको सरकारी वकिल कार्यालयले जनाएको छ ।

उपाध्यायले मुस्लिम समुदायलाई अपमानित गर्ने गरी मात्र होइन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि जथाभाबी बोलेको अभियोगपत्रमा उल्लेख छ ।

भोलि उपाध्यायको बयान र थुनछेक बहस हुने श्रेष्ठले जानकारी दिए । साइबर क्राइमको अभियोगमा प्रहरीले गत बुधबार उपाध्यायलाई ललितपुर कुसुन्तीस्थित निवासबाटै पक्राउ गरेको थियो ।

यही वैशाख १० गते उपाध्याय पक्राउ परेका थिए । भोलिपल्ट जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले उनलाई ३ दिन हिरासतमा राख्‍न प्रहरीलाई अनुमति दिएको थियो ।

बुधबारै पक्राउ परेका उपाध्यायलाई आइतबार अबेर मात्र जिल्ला अदालत लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.