स्वास्थ्य सामग्री लिएर गृहजिल्ला पुगे मुख्यमन्त्री

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई भोजपुरको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै । हतुवागढी गाउँपालिकामा कोरोना सङक्रमित देखिएपछि मुख्यमन्त्री राईसहित सामाजिक विकासमन्त्री जीवन घिमिरे, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीसहित भोजपुरको घोडेटार आउनु भएको हो । तस्वीर: युवराज विष्ट

भोजपुर, १३ वैशाख: हतुवागढी गाउँपालिकामा कोभिड–१९ का बिरामी फेला परेपछि प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई स्वास्थ्य सामग्रीसहित गृह जिल्ला आउनुभएको छ ।

मुख्यमन्त्री राई कोरोना रोकथाम र उपचारमा प्रयोग हुने सामग्री लिएर अन्य दुई मन्त्रीसहित गाउँपालिका केन्द्र घोडेटार आउनुभएको हो ।

मुख्यमन्त्री राईले थर्मलगन चार थान, स्वाब सङ्कलनका लागि प्रयोग हुने भिपीएम १०० थान, पिपिई सेट १० थान, एन–९५ मास्क ५० थान, आरडिटी किट १०० थान र पञ्जा एक हजार थानलगायतका सामान गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईलाई हस्तान्तरण गर्नुभएको छ ।

मुख्यमन्त्रीको साथमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की र सामाजिक विकासमन्त्री जीवन घिमिरे पनि आउनुभएको थियो ।

३० फागुनमा साउदी अरबबाट काठमाडौं हुँदै घर फर्किएका हतुवागढी गाउँपालिका–६ होम्ताङ्गका २६ वर्षीय युवामा दुई दिनअघि कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । उनलाई आज बिहान एम्बुलेन्सबाट उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको छ ।

साथै उनको नजिकको सङ्गतमा रहेका अन्य १४ जनाको पनि स्वाब सङ्कलन गरेर पिसिआरका लागि धरान पठाइएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.